काठमाडौ २६ कार्तिक ।
पाकिस्तान र इंग्ल्याण्डबीच भएको एक दिवसीय क्रिकेटमा पाकिस्तान ५ विकेटले विजयी भएको छ । मोहम्मद हाफिजले नटआउट शतकीय पारी खेलेपछि इंग्ल्याण्ड पाकिस्तानसँग पराजित भएको हो ।
युएईको अबुधाबीमा गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको दुई सय १७ रनको लक्ष्य पाकिस्तानले ४३ दशमलव ४ ओभरमा मात्रै चार विकेटको क्षतिमा भेट्टायो ।
पाकिस्तानका लागि मोहम्मद हाफिजले नटआउट एक सय २, बाबर आजमले नटआउट ६२ तथा शोएब मलिकले २६ रनको योगदान दिए । इंग्ल्याण्डका रीस टोपलेले तीन तथा मोइन अलीले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले दुई बल बाँकी हुँदा सबै विकेट गुमाएर दुई सय १६ रन बनायो । सुरुको १४ रन जोड्दा नै इंग्ल्याण्डको तीन विकेट गएको थियो । त्यसपछि इयान मोर्गन र जेम्स टेलरले एक सय ३३ रनको साझेदारी गर्दै पारी सम्हाले ।
मोर्गनले ७६ तथा जेम्स टेलरले ६० जोडे । यस्तै क्रिस वोक्सले ३३ रन जोडेपनि जितका लागि पर्याप्त भएन । इंग्ल्याण्डका तीन जना ब्याट्सम्यानले रनको खाता नै खोल्न सकेनन् ।
पाकिस्तानका मोहम्मद इर्फानले तीन तथा अवर अली र शोएब मलिकले समान दुई दुई विकेट लिए । यस्तै यासिर शाहले एक विकेट लिए ।