काठमाण्डौ ,२६ कार्तिक ।
आज यमपञ्चकको चौथो दिन समस्त नेपालीको घर आँगनमा परम्पराअनुसार गोरु पूजा, गोवर्धन पूजा र म्हःपूजा गरिँदै छ ।
आज नेपालीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् ।आज समस्त कृषकजनले विशेष गरी गाईको बाच्छो वा गोरुको पूजा गर्ने गर्छन् ।
गोरुले कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार नाङगालामा राखी गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।
गाईको गोबरले घर तथा आँगन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने विश्वास गरिन्छ । आज गोबरको पूजा गर्ने दिन भएकाले कृषकहरुले गोबरलाई सम्मान गर्ने गर्दछन् ।
गोबरबाट प्राङगारिक मल बनाई विषादीरहित फसल उत्पादन गर्नसक्ने भएकाले पनि गोबरको पूजा गर्ने चलन परम्परादेखि नै चल्दैआएको छ ।गोबरलाई परम्परादेखि नै इन्धनको रुपमा पनि प्रयोग गरिँदै आएको छ ।
गाईको गोबरबाट तयार गरिएको गुइँठाबाट खानेकुरा पकाउने चलन अझै कायम छ ।गाईवस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पु¥याउने भएकाले पर्वतको प्रतिनिधि गोर्वद्धन पर्वतको पनि आजै पूजा गरिन्छ ।
गाईको गोबरको पर्वत तथा कुण्ड बनाई अनेक तरहले गोवर्धन पर्वतलाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ । द्धापरयुगमा भगवान् श्री कृष्णले आफ्नै हातले गोर्वद्धन पर्वत उचाली गोकुलवासीलाई वर्र्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनु भएकाले त्यसै बेलादेखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ ।
त्यसैगरी आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ती बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।
संसारमा सबैभन्दा ठूलो आत्मा हो ।
आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।म्हःपूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्व हो ।
नेवारी भाषामा म्हःको अर्थ शरीर हो । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ ।