काठमाडौ २४ कार्तिक ।
विश्व एण्टी डोपिङ एजेन्सी वाडाले रुसलाई सबै खाले एथ्लेटिक्स प्रतियोगिताहरुमा प्रतिबन्ध लगाउन सुझाव दिएको छ ।
विश्वभर एथ्लेटिक्स खेलमा डोपिङको अवस्थाबारे छानविन गर्न गठित समितिल रुसी खेलाडीहरुमा डोपिङको डरलाग्दो अवस्था रहेको निष्कर्ष निकाल्दै रुसलाई एथ्लेटिक्सबाटै प्रतिबन्ध लगाउन सुझाव दिएको हो ।
वाडाले सार्वजनिक गरेको प्रतिवेदनमा रुसमा डोपिङलाई सरकारले समेत समर्थन गर्दै आएको उल्लेख गरिएको छ । सन् २०१२ मा भएको लण्डन ओलम्पिकमा अधिकांश एथ्लेटिक्स खेलाडीले प्रतिबन्धित शक्तिवद्र्धक औषधी सेवन गरेको छानविन समितिले जनाएको छ ।
प्रतिवेदन अनुसार एथ्लेटिक्सका ५ खेलाडी र ५ प्रशिक्षकलाई आजिवन प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ । तर ती खेलाडी र प्रशिक्षकको नाम भने गोप्य राखिएको छ ।
आगामी ओलम्पिकमा रुसललाई प्रतिबन्ध लगाई थप छानविन गर्न प्रतिवेदनले सुझाव दिएको छ । छानविन समितिको प्रतिवेदनले डोपिङका कतिपय घटनामा विश्व एथ्लेटिक्स महासंघ आई.ए.ए.एफ.लाई समेत दोषी ठहराइएको छ ।