काठमाडौ २४ कार्तिक ।
रौतहटको बाल्चन्दपुरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
गरुडाबाट चन्द्रनिगाहपुर आउँदै गरेको ना ५ ख ९७९१ नम्बरको मिनी ट्रक र चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको बा ३३ प २०६८ नम्बरको मोटरसाइकल चन्द्रनिगाहपुर–१३ को बाल्चन्दपुरचोकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रौतहट औरहिया–२ का २३ वर्षीय विवेक सिंह, कामुद शाह, औरहियाकै जयप्रकाश गुप्ता र धमौराका २६ वर्षीय रुपेशकुमार यादव रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मृत्यु हुने चारै जना एउटै मोटरसाईकलमा सवार रहेका थिए । इन्धन अभावका कारण मोटरसाइकालमा चार जना चढेका र बिहानीको समयमा हुस्सु लागेका कारण दुर्घटना भएको डिएसपी मनोज यादवले जानकारी दिनुभयो ।