भारतले गरेको अमूक नाकाबन्दीसँगै अधिकांश नेपालीहरुमा अहिले स्वाभिमानको भूत पनि सँग–सँगै सवार भएको छ । समाजिक सञ्जाल फेसबुक, ट्वीटरका भित्ताभरी स्वाभिमानी अभिव्यक्तिहरु लेपासिएका छन् । चोक, गल्ली, चिया र चमेनागृह लगायत जम्काभेटमा समेत स्वाभिमानका प्रसङ्गहरु उठ्न थालेका छन् । यस्तो लाग्छ अहिले हाम्रो चेत फिरिरहेको छ । बरु साइकल चढ्छौं, अनिलो खान्छौं, दुःख कष्ट सहन्छौं तर दक्षिणी ठूलेको हेपाहा रबैयालाई नसहने राष्ट्रप्रेमी भावनाहरुले अहिले जताततै स्थान पाएका छन् । हो ! यही स्वाभिमानी तथा राष्ट्रिय भावनालाई संस्थागत गर्न सर्वप्रथम सरकार र नागरिकको सोंचमा परिवर्तन हुनु नितान्त जरुरी छ ।
एकपटक मथिङ्गललाई जोड दिउँ ! हाम्रै घर आँगनमा सामान्य मेहनतमा प्रतिफलित हुने कृषिजन्य बस्तुहरु आलुदेखि खुर्सानीसम्मको लागि हामी पर निर्भर छौं । वर्षमा दुई तीन बाली हुने हाम्रा जमीन बाँझै राखेर हामी विदेसिन्छौं । भनिन्छ, नेपाल कृषिप्रधान देश हो, तर वर्षेनी भन्सार छूट दिएर ५० औं अर्ब रुपैंयाँको धान, मकै, गहुँ र तेल आयात गर्छौं । अत्यधिक निर्यातमुखी हुनुपर्दाको परिणामले आज हामी विश्व सामू हुतिहारा र निम्छरो सावित भइरहेका छौं । रेमिट्यान्सको पैसाबाट बाह्य वस्तु र सेवा खरिद गर्दा अहिले आफ्नै राष्ट्रियता, स्वाभिमान र स्वाधिनतामा कति ठूलो ठेस पुगिरहेको छ ? ग्याँस र इन्धनको त के कुरा घरकै जुठोपुरो खुवाएर पनि हरेक घरमा पाल्न सकिने खसीबाख्रासमेत बाहिराबाटै निर्यात गर्नु पर्ने हाम्रो लज्जास्पद अवस्था छ । अत्यावश्कीय र हाम्रो भूमीमा उत्पादन नहुने र नपाइने बस्तुहरु बाहेकका अन्य कुरामा पनि हामी परनिर्भर हुनु भनेको मन्द विष नै सेवन गर्नु समान हो । निर्यातमुखी मन्दविषले हामीलाई भित्र–भित्रै खोक्रो बनाइरहेको कुरातिर किन हाम्रो त्यतातिर ध्यान जाँदैन ?
मनोरम, प्राकृतिक छटाले भरिभराउ नेपाल देश उच्च पर्यटकीय सम्भावना बोकेको बाताअनुकूलित भूमी हो भन्ने कुरामा बिबाद छैन । जलश्रोतमा बाज्रिलपछिको दोश्रो धनी देश भनेर हाजिरी जवाफमा उत्तर दिनलाई मात्र सीमित रहेको कुराप्रति किन सरकारको चाँसो बढ्ेन ? नेपाल स्रोतविहीन मुलुक हुँदै होइन । हामी दरिद्र छदैछैनौं । दरिद्रता छ त फगत हाम्रो सोंचमा, हाम्रो विचारमा । यहाँ इन्धनदेखि खानीसम्म भएको प्रमाणित आधारहरु छन् । बहुमूल्य खनिज, जडिबुटी यहीँ छन् । पूर्वी नेपाल मोरङ जिल्ला, कानेपोखरी आसपासमा एउटा गतिलो इन्धन खानी फेला परेको वर्षौं बितिसकेको छ । इन्धन उत्खनन् गर्नेतिर किन सरकार गम्भिर छैनन् ? एउटै बोटबाट १५ केजीसम्म गोलभेंडा फलाउने प्रविधि नेपाल भित्रिसकेको छ । तर, त्यसलाई प्राथमिकता दिन सरकार किन चाहँदैन ? आखिर स्वाभिमान, स्वाधिनता र राष्ट्रियताको अभ्यास भन्ने कुरा माथिबाटै भए पो जनताले सिको गर्छन् त । यस्ता कुराहरुमा सरकार चुकेको घामझैँ छर्लङ्ग छ ।
दक्षिणी ठूलेको सधैँ अनावश्यक हस्तक्षेपकारी भूमिका नेपालीलाई पटक्कै सह्य छैन तर छिमेकीको बिकल्पको रुपमा सरकारको कदमी हास्यास्पद र आपत्तिजनक रह्यो । संसारमा कहिल्यै दास नबनेको मुलुकलाई आजको विश्वग्रामको समयमा भारतले गुलाम बनाउन खोज्नुको प्रमुख आधार नै सरकारको लाचारीपन हो । उसको सम्प्रभुत्ववादी हठको बिरुद्ध भर्खरै चालिएको कदमीलाई निरन्तरता दे सरकार ! निरन्तरता दे !!
हामी आफ्नोलाई भन्दा पराई नै आफ्नो मान्ने संस्कृतिबाट पे्ररित छौं । एक–दुई कुरा बाहेक अरु सबै कुरा हामीलाई अरुको नै राम्रो लाग्छ । मानवीय प्रबृत्ति पनि यस्तै प्रकृतिको व्यवहारबाट अछुतो रहन सकेको छैन । समीपमा रहेका महत्वपूर्ण कुराहरुलाई बेवास्ता गर्ने र दूरतामा रहेको कम महत्वका बस्तुलाई भने विशेष रुपमा हेर्ने, यो किसिमको रुग्ण मान्यताले नै हामी आफ्नो भन्नेहरुका लागि कहिलै पनि स्वस्थ बन्न सकेनौं । नेपालको राजनीतिक पाटोलाई सुक्ष्मरुपमा विश्लेषण गर्ने हो भने हामी वर्षाैंदेखि यसै अवस्थाबाट गुज्रिरहेका छौं । साँच्चै भन्ने हो भने हामी अहिलेसम्म पराइबाटै सञ्चालित थियौं न कि स्वचालित । हाम्रा हरेक कुराहरु परनिर्भरतामै थेगिएका छन् भने आत्मनिर्भर हुनुको गौरव कसरी गर्न सकिन्छ ? यस्तै–यस्तै प्रवृत्तिगत विशेषता बोकेका हामी जस्तालाई नहेपेर कस्लाई हेप्छन् त ? “होचाकी जोइ सबैकी भाउजु” भन्ने उखान त निकै प्रचलित नै छ नि । हामी आफै होचा हुने अनि भारतले हेप्यो भन्ने ? पहिले आफूमा सुधार हुनु जरुरी छ । हामी भित्रकै बिकारलाई धुनु जरुरी छ । “छोटा भए पनि हामी खोटा छैनौं” भन्ने शुभाशयबाट पहिले हामी प्रेरित हुन सक्नु प¥यो । अनि हेरौं त कस्को सामथ्र्य हामीलाई हेप्ने ?
हालै भएको (पेट्रो चाइना) सम्झौताले दक्षिणी ठूलेको सुनियोजित अभिष्टमा तुषारापात पारेको छ । यो एउटा भारतको लागि ऐतिहासिक झापड नै सिद्ध भएको छ । यो अवस्थामा ठूलेले अझै परिस्थितिलाई जर्जर र विषम नपार्ला भन्न सकिदैन । चुनौतिसँग भयभित भएर सम्भावनालाई भुसुक्कै बिर्सिनु किर्माथ बुद्धिमता हैन । त्यसैले भारतबिरुद्धको यो पहिलो कदमीलाई सलाम गर्नै पर्छ !
सुनेको कथा अनुसार श्री ३ महाराज जङ्गबहादुर राणा बेलायत जाने कुरा भयो । उनले सोधे, “मलाई कति तोपको सलामी दिनुहुन्छ ?” उता दूतले भने, “भारतका कार्यकारिणी÷राजाहरु जाँदा ६÷७ तोपको सलामी दिने चलन छ, हजुरलाई पनि त्यति नै दिन्छौं ।” जङ्गबहादुर कड्किए, “म एउटा सार्वभौम सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी हुँ, तिम्रो उपनिवेशको एउटा पुतली प्रमुख होइन । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी सरह सलामी नदिने भए म बेलायत जान्न ।” पछि बेलायतले उनलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी हैसियतमा राजकीय सम्मान दियो । यात्राकै क्रममा उनलाई बेलायत सरकारले १७ लाख पाउण्ड अनुदान दिन खोज्दा उनले, “हामी सनातन धर्म मान्ने नेपाली, लिने हैन दिने जात हो ।” भनेर अनुदान लिन मानेनन् । बेलायतबाट फर्किदा भारतमा जङ्गबहादुरलाई हेर्न ३ लाख मान्छे जम्मा भएका थिए रे ! यो हो हाम्रो गौरवशाली इतिहास । आज त्यही भारतको एउटा नाथे दूत आएर हाम्रो देशका सर्वाेच्च व्यक्तिहरुलाई आफ्नो औलाको इशारामा नचाउँन खोज्छ । हामी हेपिएको उनीहरुको तागतले होइन, आफ्नै परनिर्भरताले गर्दा हो । अहिले यो नाकाबन्दीले अधिकांश नागरिकमा सुषुप्तरुपमा निहीत स्वाभिमानी हार्माेनलाई सल्बलाइदिएका छन् । आफ्नै श्रोत, सीप र क्षमतामा निर्भर बन्न प्रेरित गरिदिएका छन् । लाग्छ अब साँच्चै नेपालीको होश खुलेको छ, चेत फिरेको छ । यही बेला हो सरकारले नागरिकको उत्साहलाई अक्षुण राख्ने । स्वाभिमानी हुन चाहनेलाई सोही किसिमको बातावरणको सृजना गर्ने । वर्षेनी लाखौं उर्जावान युवा युवतीहरुलाई विदेश जानलाई होइन स्वदेशमै केही गर्न प्रेरित गर्ने । अनि मिल्छ राष्ट्रियता, स्वाधिनता र स्वाभिमानको कुरा गर्न । नत्र स्वाभिमान, स्वाधिनता र राष्ट्रियताको विषयमा बखान गरिएका यी कुराहरु “सानो मुख, ठूलो कुरा” भने जस्तो मात्र हुनेछ । भारतको नाकाबन्दीलाई सत्तोसराप गर्नु भन्दा पनि यो नाकाबन्दी, नेपालीलाई स्वाभिमानी बनाउने अस्त्र रहेछ भनेर बुझ्नु प¥यो । धन्यवाद छ ए ! दक्षिणी ठूले, जस्ले नेपाली भित्रको नेपालीत्वलाई पुनः एकपटक जगाइदिएको छ । अब हामी भित्रको स्वाभिमान, स्वाधिनता र राष्ट्रियताको अग्नीकुण्डले भारतीय दम्भलाई कहाँसम्म भष्म पार्नेछ त्यो त हेर्न बाँकी नै छ ।
जय देश ! जय जनता !!