काठमाडौ २२ कार्तिक ।
मुस्ताङमा भएको सवारी दुर्घटनामा एक जनाको मृतयु भएको छ भने थप सात जना घाइते भएका छन् ।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा जोमसोमबाट म्याग्दीको बेनीका लागि छुटेको ध १ ज ९३ ६९ नम्बरको जिप हिजो साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बेनी नगरपालिका– ७ का २६ वर्षीय राजेन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका पाँचजनालाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि राति नै पोखरा ल्याइएको छ भने दुईजनाको बेनीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक हीरा गिरीले जानकारी दिनुभयो ।
घाइते हुनेमा बेनी ६ का २८ वर्षीय मन्दीप शाक्य, उनकी श्रीमती २६ वर्षीया गीता शाक्य र तीन वर्षीया छोरी युनिक शाक्य रहेका छन् ।
यसैगरी बेनी– ९ का २५ वर्षीय हरि चोखाल, बेनी– ७ का ३० वर्षीय राजकुमार केसी, सोही ठाउँकी ३१ वर्षीया भवानी केसी र उनकी दुई वर्षीया छोरी निपुल केसी पनि घाइते भएका छन् ।
मुस्ताङको भ्रमण गरी फर्कंदै गरेका उनीहरु चढेको जिप साँझ ७ बजे सडकदेखि दुई सय मिटर तल कालीगण्डकी नदीमा खसेको थियो ।