पोखरा, १९ कात्तिक ।
खाना पकाउने ग्यासको चरम अभावको मारमा परेका पोखरेली सर्वसाधारण ग्यास वितरण गर्ने हल्लाका कारण आज रातको २ बजेदेखि लामबद्ध बनेका छन् ।
पृथ्वीचोकस्थित पोखरा प्रदर्शनी केन्द्रबाट बुधबार चार हजार ५०० गृहलक्ष्मी ग्यास वितरण गरिएकोमा हजाराँै सर्वसाधारण लामबद्ध भएर पनि रित्तै फर्कनु परेको थियो । आजका लागि पोखरामा वितरण गर्ने कुनै योजना नभए पनि वितरण गर्ने हल्लाले रातिदेखि नै ग्यास लिनेको लाइन लामो बनेको छ ।
ग्यास बिक्रेता महासङ्घका केन्द्रीय उपाध्यक्ष बालकृष्ण कोइरालाले आज पोखरामा ग्यास वितरण गर्ने कुनै योजना नरहेको बताउनुभयो । उहाँका अनुसार आज लेखनाथ नगरपालिकाको भण्डारढिकमा भने बिहान १० बजेदेखि दुई हजार सङ्ख्यामा गृहलक्ष्मी ग्यास वितरण गर्ने योजना रहेको छ । ग्यास वितरण गर्ने भएपछि लेखनाथको भण्ढारढिकमा पनि बिहानैदेखि सर्वसाधारण लामबद्ध बनेका छन् ।
हल्लैहल्लामा नलाग्न प्रशासनमार्फत सर्वसाधारणलाई सूचनासमेत प्रवाह गरिएको कोइरालाले बताउनुभयो । तथ्याङ्कअनुसार कास्की जिल्लामा मासिक ९० हजार देखि ९५ हजारसम्म ग्यास सिलिण्डर खपत हुने उहाँको भनाइ छ । भारतको अघोषित नाकाबन्दीपछि पहिलोपटक बुधबार मात्र पोखरामा ग्यास वितरण गरिएको थियो ।रासस