काठमाडौं, १८ कार्तिक ।
भोलीबाट वितरण गरिने तेल पाउन लाइनमा निजी सवारी धनीले सवारी साधन मात्र राखेर नहुने भएको छ । सम्वन्धित पम्पबाट टोकन समेत लिनु पर्ने भएको छ ।
अघिल्लोपटक धेरै उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि नेपाल आयल निगमले यसपटक अनिवार्य रुपमा टोकन बाँड्न पम्पहरुलाई निर्देशन दिएको छ ।
सबै पम्पमा एकै परिमाणमा तेल वितरण नहुने भएकाले पम्पले आफूले पाउने पेट्रोलको परिमाणअनुसार चिट वा कुपन बाँड्ने आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले बताउनु भयो । टोकन नलिएकाहरुले तेल नपाउने पनि उहाको भनाई छ ।
टोकन लिएकाहरुले भने तेल पाउने आयल निगमले जनाएको छ । सबै सवारीलाई पेट्रोल उपलब्ध गराउने ग्यारेन्टी गर्न नसकिने डिपो प्रमुख शर्माले बताउनुभयो । अघिल्लो पटक दसैंका लागि निजी सवारीलाई पेट्रोल वितरण गर्दा झण्डै दुईतिहाइ अर्थात ७५ प्रतिशत सवारी रित्तै फर्किएका थिए ।