सीमा अवरोधबारे राष्ट्रकवि : परस्पर भरपर्ने राष्ट्र साना ठूला…

सीमा अवरोधबारे राष्ट्रकवि : परस्पर भरपर्ने राष्ट्र साना ठूला…

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

‘‘धर्ती खुल्ला सागर खुल्ला सगर पनि खुल्ला

परस्पर भर पर्ने राष्ट्र साना ठूला
हामी नाँच्छौँ सँगसँगै कुम जोडी जोडी
कस्तुरीको सुवास जस्तै श्वास फेरी फेरी..’’

थरथर हात काँपेपनि राष्ट्रकवि माधवप्रसाद घिमिरेको सिर्जनात्मक प्रवाह रोकिएको छैन । कान कम सुनेपनि उहाँ मुलुकको सामयिकतासँग नजिक हुनुहुन्छ । र, आफूलाई भेटघाट र खबरको संसारमा समाहित गरिरहनुभएको छ । त्यही भएर उहाँले नेपालीका वर्तमान दुःख र कष्टबारे चिन्तन मनन तथा लेख्ने र बोल्ने काममा आफूलाई सकेसम्म सक्रिय बनाउनुभएको छ ।

नयाँ संविधानमा सङ्घीयतालगायतका विषयमा असन्तुष्ट मधेसी दलको आन्दोलन र यहीबीचमा छिमेकी भारतले नेपालका मुख्य नाकामा लगाएको ‘अघोषित नाकाबन्दी’ अनि त्यसको असरबाट भोग्नुपरेको पेट्रोलियम पदार्थको सङ्कटबारे कविवर घिमिरेलाई पनि चासो छ । यस सन्दर्भसँग मिल्ने उहाँले लेख्नुभएको माथिको गीतका हरफ त्यसकै प्रमाण हुन् ।

‘म्युजिक नेपाल’ले रेकर्ड गराइरहेका हरफलाई लैनचौरस्थित आफ्नै निवासमा उहाँले मङ्गलबार केही स्रष्टा र सङ्गीलाई सकीनसकी सुनाउँदै गर्दा मुलुकको वर्तमान स्थितिको जीवन्त अभिव्यक्ति भएको भान हुन्थ्यो । छिमेकी भारत ठूलो मुलुक भएर सानो मुलुक नेपाललाई हेपिरहेको त छैन ? भन्ने सर्वसाधारणको प्रश्नलाई घिमिरेका गीतले शब्दमा प्रतिबिम्बन गरेको छ ।

एक साता अघिदेखिको रुघाखोकीबाट बल्ल तङ्ग्रिएर बसेका बेला ९७ वर्षीय घिमिरेलाई मङ्गलबार ‘साझा प्रकाशन’ ले निवासमै पुगेर रोयल्टी दिएपछि उहाँमा थप उत्साह मिलेको आभाष हुन्थ्यो । ‘ऋतम्भरा’ महाकाव्यको लेखनीमा जुट्नुभएका चर्चित ‘गौरी’ खण्डकाव्यका स्रष्टा घिमिरेलाई चाँडै त्रिभुवन विश्वविद्यालयले महाविद्यावारिधी पनि प्रदान गर्दैछ ।

समसामयिक सवालमा सन्देश वा रचना केही छ कि ? भन्ने जिज्ञासामा ‘यो नेपाली शीर उचाली…’ जस्ता बोलका स्रष्टा उहाँले माथिका गीति वाक्य प्रस्तुत गर्नुभएको थियो । उहाँले गीतलाई व्याख्या गर्र्दै भन्नुभयो, ‘‘अमेरिका विश्वकै जतिसुकै शक्तिशाली मुलुक भएपनि मट्टितेल कहाँबाट ल्याउँछ ?’’

‘‘अबको विश्व पञ्चशीलका सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको मान्यताअनुसार साना ठूला सबै मुलुक मिलेर वस्नुको विकल्प छैन ।’’ मार्मिक सन्दर्भ उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘संयुक्त राष्ट्र सङ्घमा पुगेर विश्वका कुन मुलुकको झन्डा ठूलो भन्दा के जवाफ दिने ?’’ वास्तवमा झन्डा झन्डा नै हो । सबै मुलुकको गौरव हो, त्यसको आकार वा रङ जस्तोसुकै किन नहोस् । त्यसो त, स्रष्टा भनेको दुहुनो गाई हुन्, जसरी अथ्र्याउँदा पनि हुन्छ भन्ने कुरा सम्झाउन पनि उहाँले छाड्नुभएन ।

राष्ट्रकवि घिमिरेले जीवनको पहिलो जागिर खाएको संस्था साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले निवासमा पुगेर रु १५ हजार ४५ प्रदान गर्नुभएको थियो । आर्थिकरुपमा डुबिसकेको संस्थाबाट रोयल्टी पाउँदा उहाँले हर्षित हुँदै भन्नुभयो, ‘‘मभन्दा छ वर्ष जेठो साझा प्रकाशन मर्नु हुँदैन, यो बाँचेमा राष्ट्रको भाषा संस्कृतिको पनि जगेर्ना हुनेछ ।’’

अध्यक्ष÷महाप्रबन्धक शर्माले आफू संस्था बचाउमा लागेको र तिहारपछि घिमिरेसहित स्रष्टाहरूको बाँकी रोयल्टी दिने योजना रहेको जनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी