काठमाडौं, १५ कार्तिक ।
१२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनामा कसरी पैसा जुटाउनेभन्ने चिन्ता भइरहेका बेला युवा नेता गगन थापाले लगानी जुटाउने नयाँ अवधारणा अघि सार्नुभएको छ ।
व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति थापाले नेपाली लगानीकर्ताहरुबाटै आयोजना निर्माणका लागि आवश्यक पर्ने २ खर्ब ५० अर्ब रुपैयाँ पुँजी जुटाउने प्रस्ताव अघि सार्नुभएको हो ।
समितिको आजको बैठकमा थाापाले सार्वसाधारणको शेयरदेखि टेलिकम, बैंक र सरकारले मिलेर बुढीगण्डकी आयोजना बनाउन सकिने बताउनुभयो ।
थापाको प्रस्ताव अनुसार नागरिक लगानी कोषबाट स्किम सञ्चालन गरी ७५ अर्ब, टेलिकमबाट स्किम सञ्चालन गरी ५० अर्ब, संस्थागत लगानीकर्ताबाट २५ अर्ब, नेपाल सरकारको इक्विडिटी ६० अर्ब, सर्वसाधारण सेयर जारी गरी १० अर्ब, वाणिज्य बैंकहरुबाट १० अर्ब, सार्वजानिक संस्थानहरुबाट १५ अर्ब, अर्थमन्त्रालय तथा अन्यबाट ५ अर्ब रुपैयाँ संकलन गरी आयोजना निर्माण गर्न सकिने छ ।
उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले सभासद थापाले राखेको प्रस्ताव नै ठूला आयोजनामा लगानी जुटाउने उपयुक्त माध्यम भएको भन्दै समर्थन गर्नुभयो ।
थापाले ऋण थोरै र लगानी धेरै गरेर स्वदेशी पुँजीबाटै आयोजना बनाउनुपर्ने बताउनु भएको छ् । हाल नागरिक लगानी कोषमा वर्षमा ३ लाख रुपैयाँसम्म जम्मा गर्दा त्यसको कर नलाग्ने व्यवस्था छ
केही समयअघि अर्थमन्त्रालयले गरेको एक अध्ययनले पनि कर छुटको रकम ठूला आयोजनाहरुमा लगानी गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।