राष्ट्रपति विद्या भण्डारीलाई खुल्ला पत्र

राष्ट्रपति विद्या भण्डारीलाई खुल्ला पत्र

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

आदरणीय विद्या दिदी सादर नमस्कार ।
सर्व प्रथम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो तथा नेपालकै पहिलो महिला राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा यहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि मंगलमय शुभकामना ।
यहाँ राष्ट्रपति जस्तो अत्यन्त उच्च र गरिमामय पदमा विराजमान हुनुभएको छ । यो तमाम नेपाली आमा, दिदीवहिनीहरुको लागि अत्यन्त खुशी र गर्वको क्षण हो भने तपाईका लाखौ माईतिहरु र शुभेच्छुकहरुका लागि गौरवको विषय हो ।
आज पूर्वी पहाडको त्यो दूर्गम भोजपुर जिल्ला अनि तपाई हुर्किबढि पढिलेखि गरेको गुराँसे र मानेभञ्ज्याङ्गका पाखापखेराहरु, ति हेपिएका अनि पल्सिएका दूर्गम वस्तिहरु, तल वेँशीमा एकनासले सुसाई रहेका बेहेरे र पिखुवा खोला, तपाईले माध्यमिक र उच्च शिक्षा हासिल गर्नुभएको विद्योदय मा.वि. र भोजपुर क्यापस आज खुशीले नाचिरहेका छन् । तपाईले छोटै समय विताएको भएपनि भोजपुर पोखरेको त्यो सुन्दर घरको आँगन, बार्दली र कोठेवारीहरुले एउटी संघर्षसिल चेलीको सफलमा गमक्क परेर रंगिविरंगी फुलहरु फुलाईरहेका छन् । सयपत्री, लालुपाते, गोदावरी गम्कीरहेका छन् । अनि तपाईलाई अमृत जल दिने पोखरेकै सुपारे र हिटी धारो प्रशन्न मुद्रामा कलकल बगिरहेका छन् ।
कुरो त्यत्ति मात्र होईन भोजपुरबाट विराटनगर झरेपछि तपाईले पहिलो पटक पाईला टेक्नु भएको महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस र तमाम विराटनगर तथा पूर्वाञ्चलबासी आज हर्षविभोर भएका छन् ।
तपाईको यो सफलताले तपाईलाई ठूलो जीम्मेवारी पनि दिएको छ । मुलुकले तपाईबाट ठूलो आशा, अपेक्षा र भरोसा गरेको छ ।
१. लामो समयदेखि मधेशमा दन्किरहेको आन्दोलनलाई अब तपाईले नै सम्बोधन गर्नुपर्नेछ ।
२. संघीयताको विभाजन हतारमा भएकोले त्यसलाई तु सच्याउन आवश्यक छ । नेपाल के हो ? कहाँ छ ? हाम्रो इतिहास कस्तो छ ? हामीवीचको सद्भाव र भातृत्वको मर्म र धर्म के हो ? हाम्रा दुई छिमेकीहरुको हामी प्रतिको दृष्टिकोण कस्तो छ ? देशमा विद्यमान प्राकृतिक श्रोत साधनको उपयोगका लागि हामीसँग कस्तो जनशक्ति छ र कसरी ती श्रोत साधनको उपयोग हुन्छ ? नाम मात्रको संघीयता मुलुकका लागि के फलदायी होला ? हो यस्ता दर्जनौ विषयमा यहाँले शीतल निवासमा बसेर सोच्ने वेला आएको छ ।
३. मुलुकले नाम मात्रको गणतन्त्र र संघीयता पाएको छ । जसरी पञ्चायती शासकहरु र वहुदलवादीहरु(२०४६-२०६३) सत्तामा रहँदा आम जनताले केहि पाएनन् र दर्जनौं आन्दोलन र संघर्षहरु भए । हजारौंको वलिदान भयो । त्यसैगरी अव पनि तपाई जस्ता देश र जनताले भरोसा गरेका उच्च पदस्थ महानुभावहरुबाट देशका लागि केहि भएन भने हामीले फेरी पनि तपाईहरुकै विरुद्धमा आन्दोलन गर्नुको विकल्प हुनेछैन । त्यस विषयमा पनि यसवेलै यहाँलाई सचेत हुन आग्रह गर्दछु ।
४. अपराधीहरुले अमेरीका र भारतको नाम लगाएर दासढुंगा हत्या काण्डलाई अन्यत्र मोडी जननेता कमरेड मदन भण्डारी र जीवराज आश्रितमाथि घोर अन्याय गरिरहेका छन् । तपाईले आजै धमिराले खानै लागेका हत्याकाण्डका फायलहरु खोतल्न निर्देशन दिनुहोस् र हत्याकाण्डको सत्य तथ्य पत्ता लगाई अपराधिहरुलाई कठोर दण्ड दिनुहोस् । हत्याकाण्ड छानविनको यो अत्यन्त सुनौलो तथा ऐतिहासिक अवसर हो । प्रधानमन्त्री र राष्ट्रपति एकै पार्टीका नेता हुनुले पनि अव ठूलो सहयोग गरेको छ । यो मौकालाई कदापी गुमाउनु हुने छैन भन्नेमा जनता विश्वस्त छन् । निस्वार्थ रुपमा पार्टीमा क्रियाशिल लाखौं कार्यकर्ता को अपेक्षा पनि यहि हो । यो मौका पनि गुमाउनु भयो भने तपाईले पछुतो गर्नुको विकल्प हुने छैन मदन कमरेड र आश्रित कमरेड छट्पटाई रहनु हुनेछ । त्यसैले राष्ट्रपति पदलाई दाउमा राखेर भए पनि दासढुंगा हत्याकाण्डको छानविन गरी श्रद्धेय नेताद्वय कमरेड मदन भण्डारी र जीवराज आश्रितलाई न्याय दिनुहोस् । यहाँलाई कोटी कोटी अनुरोध छ ।
५. राजदरवार हत्याकाण्ड भएको पनि १२ वर्ष पुरा भएको छ । कमरेड प्रचण्डले प्रधान मन्त्री भएकै दिन सो हत्याकाण्डको छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो तर वहाँले प्रतिवद्धता पुरा गर्नुभएन । मुलुकमा राजतन्त्र समाप्त भए पनि राजा वीरेन्द्रको परिवारलाई न्याय दिनु तपाईको परम् कर्तब्य हो । त्यसैले राजदरवार हत्याकाण्डका फायलहरुलाई पनि छानविन र अनुसन्धानको दायरामा ल्याउनु हुन अनुरोध छ ।
६. मुलुकमा गणतन्त्र स्थापना गर्न दश वर्ष सम्म सञ्चालन भएको जनयुद्धमा हज्जारौं व्यक्ति शहीद भएका छन् भने आज पनि हजारौं जनमुक्ति सेना घरवार विहिन छन्, खाने र वस्नेको टुंगो छैन, सैयौं जनमुक्ति सेनाका छाती, करंग, ढाड, तिघ्रा लगायतका विभिन्न भागमा आज पनि गोली र वारुदका छर्राहरु रहेका छन् । त्यसैले उनीहरुको उपचार र जीवन भरणका लागि आवश्यक पहल हुनु जरुरी छ । त्यस्तै जनयुद्धका क्रममा घाईते र वेपत्ता भएका परिवार र शहीद परिवारलाई उच्च सम्मान र भरणपोषणको व्यवस्थाका लागि पहल गर्न पनि अनुरोध गर्दछु ।
७. अन्तमा गाँठी कुरो भनौं या यक्ष प्रश्न तपाईको कार्यकालमा देशले के पायो ? नेपाली जनताले गर्वले भन्न पाऊन कमरेड विद्या भण्डारी राष्ट्रपति हुँदा मुलुकले सुशासन पायो, विकास पायो, राष्ट्रिय एकताको लागि वलियो आधार पायो, महिलाहरु विरुद्ध हुने सोच्नै नसकिने अपराधबाट मुलुकले मुक्ति पायो, देशको स्वाभिमान अझ उच्च राख्ने नेतृत्व पायो, पुरानो नेपाल भन्दा पनि गएगुज्रिएको नयाँ नेपालले नयाँ जीवन पायो, वेरोजगारीको चर्को मारमा परेर विदेशीएकाहरुले स्वदेशमै शान र मान पाउने अवसर पाए, देशले सुन्दर, शान्त र विशाल हुने मौका पायो……………………..………………………।
अन्तमा पुनः एक पटक यहाँलाई सफल कार्यकालका लागि हार्दिक हार्दिक शुभकामना साथ लाल अभिवादन ।

रमेश हतुवाली
पैचिग चाईनिज ल्याङवेज एण्ड कल्चर कलेज
पैचिंग, जनगणतन्त्र चीन ।
३० अक्टोवर, २०१५

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी