काठमाडौ १४ कार्तिक । चीनले नेपाललाई अनुदान स्वरुप दिने भनेको तेल आज बिहान साढे १० बजे हस्तान्तरण गरिने भएको छ ।
रसुवागढी नाकामा नेपालका लागि चीनियाँ राजदुतले चीनका लागि नेपाली राजदुतलाई पेट्रोल हस्तान्तरण गर्ने कार्यक्रम रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार प्रसाद पनेरुले जानकारी दिनुभयो ।
तेल हस्तान्तरण गर्नेबारे चिनियाँ दुतावासका पदाधिकारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रमुख र भन्सारका कर्मचारी बीच भएको छलफल बमोजिम चीनले नेपाललाई उपलब्ध गराउने पेट्रोल आज भव्य कार्यक्रमका बीच हस्तान्तरण गर्ने तयारी भएको पनेरुले बताउनु भयो ।
चीनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको झण्डै १३ लाख लिटर पेट्रोल आयातका लागि प्रथम चरणमा १२ वटा ट्यांक्टर रसुवाको टिमुरे पुगिसकेको छ ।
ट्यांकरलाई आज बिहानै पेट्रोल लोड गर्नका लागि रसुवागढीदेखि २२ किलोमिटर टाढा रहेको चीनको केरुङ पठाइने बताइएको छ ।
त्यसका लागि नेपाल आयल निगमका प्रवक्ता दीपक बराल सहितको टोली भने हिजो नै रसुवागाढी पुगिसकेको छ ।