काठमाण्डौ,१२ कात्तिक।
मुस्ताङमा भारी हिमपात भएको छ । जिल्लाको उपल्लो क्षेत्र सहित मुक्तिनाथ, कागबेनी र जोमसोम गाविसमा आज बिहानैदेखि हिमपात भइरहेको छ । सबैभन्दा बढी मुक्तिनाथ क्षेत्रमा हिउँ परेको प्रहरीले जनाएको छ ।
हिमपातसँगै अत्यधिक चिसो बढेका कारण सर्वसाधारणलाई समस्या भएको छ। स्थानीयहरु घरभित्रै आगो बालेर बसेका छन । सदरमुकाम जोमसोमको आसपासका डाँडामा हिमपात भएको छ ।
उपल्लो मुस्ताङको छोसेर र लोमान्थाङ क्षेत्रमा पनि हिमपात भएको स्थानीय गोकर्ण विष्टले जानकारी दिएका छन । निरन्तर पानीसँगै हिउँ परेका कारण जोमसोम विमानस्थलमा बिहानैदेखि हवाई उडान ठप्प भएको विमानस्थल स्रोतले जनाएको छ ।
यसैबीच तापक्रम माइनसमा झरेपछि हिजो रातिदेखि जुम्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जुम्ला खलंगा बजारको चारैतिर उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको छ भने खलंगा उपत्यकामा पानी परेको छ ।
पानीसँगै हिमाली क्षेत्रमा परेको हिमपातले जुम्लामा चिसो बढेको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका इन्चार्ज अखिलेश्वर चौरासियाले बुधबार रातिबाट जुम्लाको तापक्रम माईनसमा गएको जानकारी दिनुभयो ।