मोरङ, ९ कात्तिक ।
संयुक्त मधेसी मोर्चाले आह्वान गरेको लगातार दुई महिनाभन्दा बढी समयदेखिको बन्दका कारण पूर्वाञ्चलका एक दर्जन उद्योग सङ्कटमा परेका छन् । कच्चा पदार्थ आयात र उत्पादन भएको वस्तु बजारमा बिक्री गर्न नपाएपछि एक दर्जन मदिरा उद्योग सङ्कटमा परेका हुन् ।
पूर्वाञ्चल मदिरा उद्योग सङ्घका अनुसार, चण्डिका डिस्ट्रिलरी रङ्गेली, गोल्डेन ग्लोब विराटनगर, पूर्वाञ्चल डिस्ट्रिलरी दुहवी, हिमालयन डिस्ट्रिलरी, जिङ मदिरा उद्योग दुहवी, त्रियुगा डिस्ट्रिलरी सप्तरी, शारदा डिस्ट्रिलरी मिर्चयालगायत पूर्वाञ्चलका करिब एक दर्जन मदिरा उद्योग सङ्कटमा परेका हुन् ।
मदिरा उद्योग सङ्कटमा परेपछि आवश्यक कच्चा पदार्थको सहज आपूर्ति नहुँदा मदिरा उत्पादनसमेत ठप्प भएको उद्योगीको गुनासो छ ।
दसैँ तिहारमा बढी मदिरा खपत हुने भएपनि संयुक्त मधेसी मोर्चाको दुई महिनादेखिको निरन्तर बन्दका कारण उद्योगी व्यवसायीले मदिरा उत्पादन बिक्री गर्न नसकेको बताएका छन् ।
दुई महिनाभन्दा बढी समयदेखिको बन्दले मजदुर र सर्वसाधारणको जीवन अस्तव्यस्त बन्दै गएको छ भने सरकारको राजस्वसमेत गुमेको छ ।