काठमाडौ ९ कार्तिक ।
आज कोजाग्रत पूर्णिमा, आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष अर्थात दसैँ आज सकिँदैछ । सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना तथा जाग्राम बसी आज दसैँ समापन गरिँदैछ ।
कोजाग्रत पूर्णिमाको राति जाग्राम बसेको मानिसको घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
माता दुर्गाका तीन रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैँ र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ ।
आज राति ८ बजेर १३ मिनेटसम्म चतुर्दशी तदुपरान्त पूर्णिमा लागे पनि पूर्णिमा व्रत भने मध्यरात मंगबार प्रातःकाल बस्नुपर्ने र आज मध्यराति नै कोजाग्रत मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।