काठमाडौं ,७ कात्तिक ।
चीन सरकारले अनुदानस्वरुप एक हजार मेट्रिक टन इन्धन दिने भएको छ ।
भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी कारण इन्धन अभाब भइरहेका बेला आयातको विकल्प खोजिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच भएको सहमति बमोजिम् चीनबाट मंगलबार रसुवा–केरुङ नाका हुँदै १ हजार मेट्रिक टन इन्धन नेपाल आउन लागेको हो ।
केही दिनअघि चिनियाँ राजदूत उ चुन्ताई र प्रधानमन्त्री ओलीबीच भएको छलफलमा भएको सहमति अनुसार चीनले यही मंगलबार एक हजार मेट्रिक टन इन्धन अनुदानस्वरुप नेपाल पठाउन लागेको हो । चीनले अनुदानस्वरुप दिने सो इन्धन रसुवा–केरुङ नाकाबाट मंगलबार नेपाल पठाउने तयारी गरेको छ ।
भारतले संविधान संशोधन गरी आफ्ना सर्त पुरा गरेमात्र नाकाबन्दी खोल्ने जनाउ दिएपछि प्रम ओलीकै निर्देशनमा मंगलबार राति आयल निगमको उच्चस्तरीय टोली चीनको सिगात्से पुगिसकेको छ ।
पेट्रोलियम र ग्यास चीनबाट आयात गर्न सिगात्से पुगेको निगमका निमित्त उपमहाप्रवन्धक सुशील भट्टराई नेतृत्वको टोलीले त्यहाँबाट ग्यास र इन्धन आयतका लागि चिनियाँ पक्षसँग छलफल गरेको थियो ।
चीनले पेट्रोलियम र ग्यास दिने सहमति जनाएपछि विस्तृत सम्झौतका लागि आइतबारै नेपालबाट उच्चस्तरीय प्रतिनिधि मण्डल चीनको बेइजिङ जाने भएको छ ।
अर्थ, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको उच्चस्तरीय सरकारी टोली इन्धनको आयातका लागि सम्झौता गर्न आइतबारै बेइजिङ जान लागेको हो ।