काठमाडौं, ८ कार्तिक ।
स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले तीन अंकको अग्रता बनाएको छ ।
शनिबार राति भएको खेलमा सेल्टा डि भिगोलाई ३–१ ले हराउँदै रियल मड्रिडले दोस्रो स्थानको सेल्टा र तेस्रो स्थानको बार्सिनोसँगको अंक दूरी तीनमा र्पुयाएको हो ।
आठौं मिनेटमा नै क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । रोनाल्डोले यो सिजनमा अहिलेसम्म १२ गोल गरिसकेका छन् । २३ औं मिनेटमा डानिलोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
५७ औं मिनेटमा गुस्ताबो क्याब्रल दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडिमा सिमित भएको सेल्टा भिगोका लागि ८५ औं मिनेटमा एग्युडो डुरानले एक गोल फर्काए ।
९० औं मिनेटमा मार्सेलोले गोल गर्दै रियल मड्रिडलाई ३–१ को जित दिलाए । जितपछि शीर्ष स्थानको रियल मड्रिडको ९ खेलबाट २१ अंक भएको छ । दोस्रो स्थानमा रहेको सेल्टा भिगोको समान ९ खेलबाट १८ तथा तेस्रो स्थानमा रहेको बार्सिलोनाको ८ खेलबाट १८ अंक छ ।
शनिबार राति भएका अरु खेलमा सेभिल्लाले गेटाफेलाई ५–० तथा मालागाले डिप्रोडिभो डि ला कोरुनालाई २–० ले हरायो । ग्रनाडा र रियल बेटिसले १–१ को बराबरी खेल्दै अंक बाँडे ।