काठमाडौं, ८ कार्तिक ।
व्यवस्थापिका– संसदले सहमतीका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न आज दिउँसो ४ बजेसम्मको समय दिएको छ ।
संसदको हिजो बसेको बैठकले सहमतीका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आजसम्मको समय दिएको हो ।
नेपालको संविधानको धारा २९७ को उपधारा २ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्य्विधि, २०७२ को दफा २९ र ३८ को उपदफा (१) बमोजिम राजनीतिक सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न आज अपराह्न ४ बजेसम्मको समय तोकिएको हो ।
आज दिउँसो ४ः३० सम्म राजनीतिक सहमति हुन नसकेमा कात्तिक ११ गते बिहान ११ बजे निर्वाचन हुनेछ ।
निर्वाचन तालिका अनुसार कात्तिक ८ गते राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, प्रस्ताव बमोजिमको बर्णानुक्रमअनुसार नामावली प्रकाशन गर्ने र व्यवस्थापिका–संसद्को बैठकमा राजनीतिक सहमतिको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वा्चित भएको घोषणा गरिनेछ ।
राजनीतिक सहमति कायम नभएमा भने कात्तिक १० गते दिउँसो १ बजेभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेद्वारी प्रस्ताव दर्ता गर्ने, त्यसपछि नामावली प्रकाशन गर्ने, नामावली उपर दाबी विरोध गर्ने, उम्मेद्वारी फिर्ता लिने र कात्तिक १० गते दिउँसो ३ बजे नै अन्तिम नामावली प्रकाशन गरिनेछ ।
कार्यक्रम अनुसार कात्तिक ११ गते नै अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा विहान ११ बजेदेखि २ बजेसम्म मतदान भई दिउँसो २ः३० पश्चात् मतगणना र बेलुकी ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्को बैठकमा घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।