लहान, ७ कात्तिक ।
आन्दोलनमा प्रेस, मानवअधिकार, एम्बुलेन्स र वारुणयन्त्रलाई कुनै अवरोध नगर्ने समाचार सङ्कलनका क्रममा रहेका पत्रकारको समेत मोटरसाइकल आज तोडफोड भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले बिहान सिरहाको लहानस्थित सहिद रमेश महतो चोकनजिक स्थानीय ‘सौगात’ एफएम र ‘मधेसस्पेसल डट कम’मा कार्यरत पत्रकार फिरोज शेखको मोटरसाइकल तोडफोड गरेका हुन् ।
पत्रकारको सङ्केत देखिने पोसाक लगाएर बिहान समाचार सङ्कलन गर्न जानुभएका शेख चढेको स ६प ८ नंको मोटरसाइकल तोडफोड हुँदा मोटरसाइकलको भाइजर र हेडलाइट काम नलाग्ने गरी क्षतिग्रस्त भएको छ ।
“पत्रकार हुँ भन्दाभन्दै जबर्जस्ती मोटरसाइकलमा प्रहार गरे”, शेखले भन्नुभयो, “मोटरसाइकल तोडफोड भएपछि मोर्चाको स्थानीय नेतृत्वले बनाइदिन्छौँ भन्ने आश्वासन दिएको छ ।”
मोर्चाले शुक्रबार बिहानदेखि नै लहान क्षेत्रमा माइकिङ गरी मोटरसाइकलसमेत चलाउन नदिने घोषणा गरेको थियो ।
आफूहरुको घोषणा उल्लङ्घन गरेको भन्दै मोर्चा सम्बद्ध कार्यकर्ताले आज लहानमा बा६७ प ७२४२ र बा६१प१४५० नंको मोटरसाइकलसमेत तोडफोड गरेका छन् ।
सिरहा सप्तरीको सीमाका रुपमा रहेको बलान नदीको पुलमा करिब एक सयको हाराहारीमा मोटरसाइकल रोकिएका छन् । तोडफोड र आगजनी हुन सक्छ भन्दै लहान प्रहरीले करिब दुई दर्जन मोटरसाइकल प्रहरी कार्यालयमा लगेर राखेको छ ।