काठमाडौं,४ कात्तिक ।
मलेशियामा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आयरल्यान्डले नेपालसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
किन्नारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारीत ५० ओभरमा ७ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । आयरल्याण्डका आरोन गिलस्पाइले नटआउट ५३ तथा ज्याक टेकटोरले ४६ रन बनाए ।
नेपालका प्रेम तामाङले चार, ललित राजवंशीले दुई तथा सुशील कँडेलले एक विकेट लिए । नेपालले अहिले लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।
यसअघि भएका तीन खेलमा जित निकालेको नेपालले छनौट प्रतियोगिताको फाइनलमा स्थान बनाइसकेको छ । आजको खेल औपचारिकतामा मात्रै सीमित हुने छ ।
यी दुई टोलीहरुबीच बिहिबार हुने फाइनल खेलले आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकपमा छनौट हुने एक टोलीको टुंगो लगाउनेछ । विश्वकपमा छनौट हुनका लागि नेपालले फाइनल जित्नुपर्ने हुन्छ ।
युगान्डा, अमेरिका, पपुवा न्यु गिनीसहित नेपाल र आयरल्याण्ड सहभागी छनौट प्रतियोगिताको फाइनलमा तीन खेल जितका नेपाल र आयरल्याण्ड पुगेका हुन् ।
नेपालले अमेरिकालाई ६ विकेटले ,पपुवा न्युगिनीलाई ९ विकेटले र युगान्डालाई १ सय ७१ रनले पराजित गरेको थियो ।