कञ्चनपुर, ३ कार्तिक ।
छाडा चौपायाका कारण कञ्चनपुरमा दुर्घटनाका घटना बढ्दै गएका छन् ।
अनुत्पादक चौपायालाई स्थानीय बासिन्दाले बजार क्षेत्रमा लगेर छाड्ने क्रम बढेपछि सडक दुर्घटनामा बढोत्तरी हुन थालेको बताइएको छ ।
पूर्व–पश्चिम राजमार्ग छेउका झलारी, दैजी, महेन्द्रनगर र गुलरीया बजार क्षेत्रमा केही महिनायतादेखि चौपाया छाड्ने क्रम बढ्दै गएको स्थानियहरुको भनायृ छ ।
चौपाया छाड्ने क्रमसँगै सडक दुर्घटनाका घटनामा बढोेत्तरी भएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
चौपायाले लस्करै सडकमा बाटो काट्ने, सडकमै रातिका बेला बस्ने गरेकाले दुर्घटना बढेको ट्राफिक प्रहरी रामदत्त बडूले बताउनुभयो । दुर्घटनामा अधिकांश मोटरसाइकल चालक पर्ने गरेका छन् ।
हालसम्म चौपायाकै कारण आधा दर्जनभन्दा बढी दुर्घटना भएका छन् । बजार क्षेत्रका फलफूल र तरकारी व्यापारीलाई समेत छाडा चौपायाले हैरान बनाएका छन् । पसलमा राखेको फलफूल र तरकारी खाइदिँदा नोक्सानी व्यहोर्नु परिरहेको व्यापारीको गुनासो छ ।
झलारी पिपलाडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले चौपायालाई बजार क्षेत्रमा लगेर छाड्नेको खोजीगरी चौपायाले पु¥याउने नोक्सानीको क्षतिपूर्ति तिराउनका लागि पहिचानको कार्य थालेको बताउनुभयो ।