काठमाडौं, २ कार्तिक ।
उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा अमेरिकाले नेपाल सामु एक सय ९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धा्रित ४६ ओभरमा सबै विकेट गुमाएर एक सय ९ रन बनायो ।
अमेरिकाले एक सय ९ रन बनाएपनि नेपालले डक वर्थ लुइस नियमका आधारमा एक सय ९ रन कै लक्ष्य पाएको हो ।
मलेसियाको क्वालालम्पुरमा भएको खेलको ३५ ओभरपछि खराब मौसमका कारण केही बेर रोकिएको थियो ।
मौसमले प्रभावित भएको खेल ४८ ओभरमा छोट्याइएको थियो । नेपालले अब जितका लागि ४८ ओभरमा एक सय ९ रन नै बनाउनु पर्छ ।
अमेरिकाका लागि सागर पटेलले ४४, तोहिदुल इस्लामले १४ तथा गौरव पटाङकरले ११ रन बनाए ।
नेपालका प्रेम तामाङले पाँच, आरिफ शेखले दुई तथा सुशील कँडेल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । नेपालले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।
यसअघि नेपलाले पहिलो खेलमा पपुवा न्यु गिनीलाई ९ विकेट तथा दोस्रो खेलमा युगान्डालाई १ सय ७१ रनले हराएको थियो ।
दुई खेलबाट चार अंक जोडेको नेपाल अहिले शीर्ष स्थानमा छ । समान ४ अंक जोडेको आयरल्याण्ड दोस्रो स्थानमा छ ।
दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको अमेरिका दुई खेलबाट दुई अंक सहित चौंथो स्थानमा छ ।
अमेरिकाले पहिलो खेलमा युगान्डालाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा आयरल्याण्डसँग ८ विकेटले हारेको थियो । नेपालले अमेरिकालाई हराउन सके छनौटको सम्भावना बलियो बनाउनेछ ।