काठमाडौं, २ कार्तिक ।
उन्नाइ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको तेस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल जारी छ ।
मलेसियाको क्वालालम्पुरमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि अहिले अमेरिकाले ब्याटिङ गरिरहेको छ ।
नेपाल राजु रिजालको कप्तानीमा मैदान उत्रिएको छ भने अमेरिका एलेक्स शोफको कप्तानीमा खेलिरहेको छ ।
यसअघिका दुई खेलमा जित निकालेको नेपाल अमेरिकालाई पनि हराउँदै आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकपका लागि छनौट हुने सम्भावना जिवित राख्न चाहन्छ ।
नेपलाले पहिलो खेलमा पपुवा न्यु गिनीलाई ९ विकेट तथा दोस्रो खेलमा युगान्डालाई १ सय ७१ रनले हराएको थियो ।
दुई खेलबाट चार अंक जोडेको नेपाल अहिले शीर्ष स्थानमा छ । समान ४ अंक जोडेको आयरल्याण्ड दोस्रो स्थानमा छ ।
यसअघिका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको अमेरिका दुई खेलबाट दुई अंक सहित चौंथो स्थानमा छ ।
अमेरिकाले पहिलो खेलमा युगान्डालाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा आयरल्याण्डसँग ८ विकेटले हारेको थियो । नेपालले अमेरिकालाई हराउन सके छनौटको सम्भावना बलियो बनाउनेछ ।