काठमाडौँ, १ कात्तिक ।
शेरबहादुर खड्का स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत भेट्रान डबल्सको उपाधि सुशील पौडेल र ऋषि बरालको जोडीले हात पारेको छ ।
बालकोटस्थित माउन्ट भ्यु स्कुलमा भएको आज भएको अन्तिम खेलमा पौडेल र बरालले मोती पाठक र गोविन्दसिंह भण्डारीको जोडीलाई २१–१६ र २१–११ को सोझो सेटमा पराजित गरेको हो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त प्रतियोगिताको पुरुष डबल्समा रञ्जन खड्का र मनीष पराजुलीको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटर फाइनलमा खड्का र पराजुलीको जोडीले ध्यानकुमार राई र महेश चौधरीको जोडीलाई २–० को सोझोे सेटमा पाखा लगाएको थियो ।
त्यस्तै राजु केसी र सुभाष थापाको जोडीले पनि जित हात पादै सेमिफाइनलमा रञ्जन र मनीषको जोडीसँग भेट पक्का गरेको छ । क्वाटर फाइनलमा राजु र सुभाषको जोडीले विपीन आचार्य र बलराम भण्डारीको जोडीलाई २–१ ले पराजित गरेको थियो ।
त्यसैगरी आजै भएको पुरुष डबल्सको अन्य खेलमा गोपाल खनाल र भूमिसिंह चौधरीको जोडी सञ्जीव कटुवाल र घनेन्द्र लिम्बूको जोडीलाई तथा सुशील पौडेल र कृष्ण कटुवालको जोडी भगत रानाभाट र विकास भण्डारीको जोडीलाई समान २–१ को स्कोरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
विजयादशमीका उपलक्ष्यमा आयोजना गरिएको उक्त प्रतियोगिताको पुरुष एकलको समूह ‘ख’ को खेलमा घनेन्द्रले रञ्जनलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका छन् । त्यसैगरी मनीषले बबिन थापालाई २–० को सोझो सेटमा हराउँदै घनेन्द्रसँग सेमिफाइनलमा भेट पक्का गरेका छन् ।
पुरुष एकलको समूह ‘क’ बाट सुनिल शाक्यले महेश चौधरीलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका छन् । समूह ‘क’ बाटै सञ्जीव कटुवाल र रसिन खड्काले आआफ्नो खेल जित्दै क्वाटर फाइनलमा आपसमा भेट जुराएका छन ।