काठमाडौं, ३० असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक हस्तक्षेपबाट मुक्त र निर्भिक भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरीको ६० औं स्थापना दिवसको अवसरमा आज प्रहरी मुख्यालयमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले कानुनको पालना गरेर अगाडि बढ्नु प्रहरीको कर्तव्य भएको बताउनुभयो ।
उहाले प्रहरी संगठन स्वतन्त्र र जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने भन्दै नेपाल प्रहरीले देखाएको वीरताको पनि खुलेर प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति, सुरक्षा, न्याय निरुपण र अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने समेत बताउनुभएको छ ।
उहाले नेपाल प्रहरीको छवी र मर्यादा नेपालमा मात्र नभई विश्वमै सन्तोषजनक रहेको भन्दै आफ्नो इमान्दारिता व्यवहारमा देखाउन सकेकोमा गौरव लागेको बताउनुभयो ।
नेपाल प्रहरीलाई स्रोत साधन सम्पन बनाउन र दक्षता अभिवृद्धि गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले पनि प्रहरी संगठन अविचलितरुपमा क्रियाशील भएर देश र जनताका लागि समर्पित हुने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
उहाले राजनीतिक हस्तक्षेपबाट प्रहरी संगठनलाई जोगाएर अगाडि बढाउने चुनौति रहेको भन्दै आफू स्वतन्त्र र व्यवसायिक संगठनका लागि क्रियाशील रहने पनि बताउनुभयो ।