काठमाडौं, ३० असोज ।
सरकारको अलमल र भारतले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ नेपाल नपठाउंदा इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन ।
मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज लामो समयदेखि ठप्प रहँदा इन्धन अभाव चर्किंदै गएको छ ।
अन्य नाका खुकुलो भएको भनिए पनि पर्याप्त मात्रामा इन्धन आपूर्ति भने हुन सकेको छैन ।
इन्धन भर्न गएका नेपाली ट्यांकरहरुलाई भारतीय डिपोहरुले न्युन मात्रामा कोटा प्रणालीबाट तेल दिएकाले अवरोध नभएका नाकाबाट पनि पर्याप्त मात्रामा इन्धन आउन नसकेको हो ।
नाकामा कुनै अबरोध नरहेपनि मागेजति तेल आयुसिले नदिंदा इन्धन भित्राउन नसकिएको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रिय कार्यालय बिराटनगरका प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिनुभयो ।
उता, कैलालीको धनगढी नाकाबाट भने कुनै अवरोध पेट्रोलियम पदार्थका गाडी नेपाल प्रवेश गरिरहेका छन् ।
यसैबीच भारतको उत्तरप्रदेशमा आज हुने ग्राम पन्चायतको निर्वाचनलाई मध्यनजर गर्दै बर्दियासँग जोडिएको नेपाल भारत सीमानाका सिल गरिएको छ ।
उत्तरप्रदेश राज्य स्थित बहाराइ जिल्लामा आज हुन लागेको निर्वाचनलाई मध्यनजर गर्दै गएरातिबाट सीमानाका सिल गरिएको जनाएको छ ।