काठमाडौँ, २९ असोज । प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिताको समापन समारोहको अवसर पारेर नेपाली सेनाले विभिन्न खेलाडीलाई सम्मान गरेको छ ।
आज जङ्गी अड्डाको खेल मैदानमा आयोजित समापन समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रतियोगिताका विजेता, उपविजेता टोलीलगायत व्यक्तिगत स्पर्धाका खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल त्रिभुवन आर्मी क्लबका खेलाडी तथा लामो समयसम्म खेलमार्फत योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरियो ।
सेनापति रनिङ सिल्ड फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल पूर्वी पृतना तथा द्वितीय भएको आर्टिलरी निर्देशनालयलाई ट्रफिसहित नगद पुरस्कार प्रदान गरियो ।
प्रतियोगितामा डेमो खेलका रुपमा समाविष्ट रग्बी खेलमा प्रथम भएको विशेष फौज ‘नीलो’ र द्वितीय भएको विशेष फौज ‘रातो’लाई तथा तान डोरीमा प्रथम हुन सफल विशेष फौज र द्वितीय हुन सफल सिग्नल तथा सूचना प्रविधि निर्देशनालयले उचित पुरस्कार पाएका थिए ।
सोही अवसरमा ‘अजयवल सम्पन्न ट्रफी’ पुरुषतर्फ कालीशक्ति गणका अमल्दार तथा राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठ र महिलातर्फ श्री जगदल गणकी गनर तथा एथलेटिक्स खेलाडी सरस्वती भट्टराईलाई प्रदान गरियो ।
त्यस्तै, खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली सेनाको गरिमालाई उच्च राख्न सफल भएको भन्दै एथलेटिक्स प्रशिक्षक पुष्प ओझा र चर्चित धावक सहसेनानी राजेन्द्र भण्डारीलाई दीर्घावधि योगदान पुरस्कारबाट सम्मानित गरियो ।