काठमाडौं, २९ असोज ।
आइसीसी अन्डर १९ वल्र्डकप छनौटमा नेपालले युगान्डा विरुद्ध १ सय ७१ रनको सानदार जित हात पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २४२ रन बनाएको थियो ।
२४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको युगाण्डा ३६ ओभर २ बलमा सबै विकेट गुमाएर ७१ रनमा सीमित भयो ।
मलेसियाको क्वालालाम्पुरस्थित रोयल सेलेंगर क्लवमा आज भएकोे खेलमा नेपालका लागि राजु रिजालले शतकीय पारी खेल्दै १ सय १ रन बनाए ।
युगाण्डालाई सस्तोमै समेट्ने क्रममा नेपाली बलर दीपेश श्रेष्ठले तीन विकेट लिए भने आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र प्रेम तामाङले २–२ तथा सुनिल धमलाले एक विकेट लिए ।
नेपालका लागि अरिफ सेखले ५४, योगेन्द्र कार्कीले ३० तथा राजवीर सिंहले १३ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंकको स्कोर गर्न सकेनन ।
ओपनर सुनिल धमला ७ तथा सन्दीप सुनार २ रनमा आउट भएपछि नेपाली टीम दवावमा आएको थियो ।
कप्तान रिजालले तेस्रो विकेटका लागि कार्कीसंग ८४ र अरिफ सेखसंग चौथो विकेटका लगि ९० रनको साझेदारी गरे ।
नेपालले हिजो आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई फराकिलो अन्तरले पराजित गरेको थियो । युगान्डा पहिलो खेलमा अमेरिकासंग पराजित भएको थियो ।