काठमाडौ २९ असोज ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज हुने सभामुख र उपसभामुख पदको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको छ ।
कांग्रेसको उमेदवारी फिर्तासँगै एमाओवादीबाट सभामुखका लागि प्रस्तावित ओनसरी घर्ती र राप्रपा नेपालका तर्फबाट उपसभामुखमा उमेदवारी दिनुभएका यादवप्रसाद ढुङ्गाना स्वतः निर्वाचित हुने भएको छ ।
सभापति सुशिल कोइरालाको निवास महाराजगञ्जमा आज विहान बसेको पदाधिकारी बैठकले पार्टीका तर्फबाट दुवै पदमा उम्मेदवारी नदिने निर्णय गरेको प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो ।
सत्ता गठवन्धन दलका तर्फबाट दुई जनाको उम्मेदवारी तय भइसकेकाले आफ्नो उम्मेदवार निर्वाचित हुने सम्भावना नदेखिएपछि कांग्रेस उम्मेदवारी नै नदिने निर्णयमा पुगेको हो ।
आन्दोलनरत मधेसी दलको समर्थनका बाबजुद प्रधानमन्त्रीको निर्वाचनमा पराजित भएको कांग्रेस सभामुख र उपसभामुख निर्वाचनमा उनीहरु उपस्थिति समेत नहुने जनाउ पाएपछि उम्मेद्वारी नै नदिने निष्कर्षमा पुगेको स्रोतले बताएको छ ।