खेलमा मिलेमतो गरेकै हौ:अभियुक्तहरू

खेलमा मिलेमतो गरेकै हौ:अभियुक्तहरू

  • बिहिबार, अशोज २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २८ असोज । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित अन्य चार खेलाडीले आफूहरूमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् ।

अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

खेलाडीहरू पक्राउ परेपछि गएरातिदेखिनै अनुसन्धान गर्दा उनीहरूले भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरूलाई पश्चाताप भइरहेको बताएको खनालले जानकारी दिनुभयो । खनालका अनुसार अधिंकाश खेलमा कप्तान थापाको निर्देशनमा मिलेमतो भएको पाइएको छ ।

उनीहरूले सन् २००८ देखि २०१५ सम्मका ८ वटा खेलमा मिलेमतो गरेको र प्रतिखेल एक करोड रुपैयाँसम्म लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्ने सर्तमा प्रतिखेलाडीले ५ हजार अमेरिकी डलर, सन् २००९ को साफ च्याम्पियनसीपमा जम्मा तीन हजार ६१ अमेरिकी डलर लिई दामासाहीले बाँडेको, सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा प्रतिखेलाडी पाँच हजार अमेरिकी डलर लिएको अनुसन्धानका क्रममा खुलेको खुल्न आएको जनाएको छ । सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा प्रति खेलाडी ५ हजार डलर, सन् २०१२ मा भारतमा भएको नेहरू कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रति खेलाडी ५ हजार डलर लिने गरी सर्त भएकोमा खेलको अन्ततिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको लगायतका अभियोगहरू खुल्न आएको प्रहरीले जनाएको छ ।

खेल मिलेमतो गरेवापत सिङ्गापुरका नागरिक टिटानी पेरियासामी र केशभन पत्तनसमेतका एजेन्टबाट अन्जन के.सी. र रितेश थापाले विभिन्न देशहरूबाट मनी ट्रान्सफरमार्फत रकम लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

प्रहरीका अनुसार हिरासतमा रहेका फुटबलका राष्ट्रिय खेलाडी एवम् प्रशिक्षकलाई राष्ट्रियता दाउपेज गरेर मुलुकलाई हरूवा बनाउनेविरुद्ध राजद्रोह र सङ्गठित अपराधको मुद्दा चलाइनेछ ।

घटस्थापनादेखिनै अदालत बन्द भएकाले उनीहरूविरुद्ध दशैं बिदा सकिएलगत्तै मुद्दा दायर गरिनेछ । उनीहरूलाई राज्यविरुद्धको अपराधको दफा ३ को उपदफा ३.३ मा रहेको प्रावधानअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो । सो दफामा ‘कसैले नेपालको सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा सङ्गठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा दश वर्षसम्म कैद’ हुने कानुनी व्यवस्था रहेको उल्लेख छ ।

पक्राउ खेलाडी एन्फाद्वारा निलम्बित

म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका पाँचै खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घले आज निलम्बन गरेको छ ।

आज एक विज्ञप्ति जारी गरी एन्फाले ‘फुटबल खेलमा मिलेमतो जस्तो सम्वेदनशील विषयको किनारा लगाएसम्म उल्लेखित पाँच खेलाडीहरू एवम् प्रशिक्षकलाई सङ्घले कुनै पनि गतिविधिहरूमा संलग्न नगराइने उल्लेख गरेको छ ।

एन्फाले खेल मिलेमतो प्रकरण अनुसन्धान गर्न नेपाल प्रहरीलाई सबै किसिमको सहयोग उपलब्ध गराउनेसमेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) को आचारसंहिताअनुसार खेल–मिलेमतो गर्ने खेलाडी, प्रशिक्षक, म्याच अफिसियल र प्रशासकमाथि खेल मिलेमतो गरेमा वा गर्ने प्रयास गरेमा सम्बन्धित देशको फुटबल सङ्घ र प्रहरीले दोषीमाथि कारबाही गर्ने उल्लेख छ । दोषी प्रमाणित भए उनीहरूमाथि फुटबलका सबैखाले गतिविधिबाट आजीवन प्रतिबन्ध, ठूलो आर्थिक जरिवाना र जेल सजायसमेत हुन सक्छ ।

म्याच फिक्सिङले दुःखी बनायो :खेलप्रेमी

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा खेलाडी पक्राउ परेको समाचारले आफूहरूलाई दुःखी बनाएको खेलकर्मी तथा अफिसियलहरूले बताएका छन् ।

रासससँग कुरा गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले यस किसिमको घटनाले आफुलाई दुःखी तुल्याएको भन्दै आधिकारिक छानविन नभएसम्म यस विषयमा केही भन्न नमिल्ने बताउनुभयो ।

पूर्व राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक राजुकाजी शाक्यले यस समाचारले देशलाई मात्र नभई फुटबल क्लबलाई नै तहस नहस पार्ने धारणा राख्नु भयो ।

त्यसैगरी खेलकुद विशेषज्ञ तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारी सन्जिव मिश्रले आफू एन्फाको पदाधिकारी भएकाले एन्फाले गर्ने आधिकारिक निर्णयको पालना गर्ने बताउनुभयो ।

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई र प्रशिक्षक अञ्जन केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

राष्ट्रिय टोलीबाट ५० भन्दा बढी खेल खेलिसकेका कप्तान थापाले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन् । रितेश र सन्दीप पनि राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । सन्दीपले राष्ट्रिय टोलीबाट ४९ खेल खेलिसकेका छन् । अञ्जन थ्री स्टार क्लबका पूर्वप्रशिक्षकसमेत हुन् । विनाशकारी भूकम्पपछि गत वैशाख १२ गते रोकिएर गत भदौ २८ मा राष्ट्रिय लिग पुनः सुरु हुँदा व्यक्तिगत कारण देखाउँदै अञ्जन थ्री स्टारबाट अलग्गिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी