काठमाण्डौ, २८ असोज ।
पर्याप्त पेट्रोलियम पदार्थ नदिएको भारतले तेल र ग्यासको भन्सार जाँचपासमा पनि फेरि कडाई गरेको छ । आज दिनरभमा भारतबाट ५३ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन् ।
यसअघि मंगलबार १ सय ४८ वटासम्म ट्यांकर नेपाल भित्रिएको थियो । तर, बुधबारबाट इण्डियन आयल कर्पोरेसनले तेल दिन र भारती अधिकारीहरुले भन्सार जाँचपास गर्न आनाकानी सुरु गरेको छ ।
अन्य किसिमका मालबाहक सवारीलाई सजिलै जाँचपास गरिरहेका भारतीय भन्सारले आज पेट्रोलियमको जाँचपासमा फेरी ढिलाई र अलमल गरेका छन् ।
दिनभरमा काँकडभिट्टाको मेची, बिराटनगरको रानी, भैरहवाको बेलहिया, नेपालगञ्जको जमुनाह र कैलालीको गौरीफन्टा नाकाबाट आज केही मात्रामा ग्यस तथा तेल भित्रिएको छ । नेपालगञ्जबाट १६ ट्यांकर, भैरहवाबाट ११, काँकडभिट्टाबाट ९, बिराटनगरबाट ८ र कैलालीबाट ७ ट्यांकर इन्धन नेपाल भित्रिएका छन् ।
मेची भन्सारबाट १ सय २५ मालबाहक गाडी भित्रिएकोमा ५ वटा डिजेल, ३ वटा पेट्रोल र एउटा हवाई इन्धन बोकेका ट्यांकर रहेको भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिनुभयो । यसैगरी १ सय ७० वटा मालबाहक गाडी भित्रिएको बिराटनगर नाकाबाट ७ वटा ग्यास बुलेट र एउटा डिजेल ट्यांकर नेपाल आएका छन् ।
भैरहवा नाकाबाट दिनरभमा २ सय ५० भन्दा बढी मालबाहक गाडी भित्रिएको भन्सार अधिृकत रविन्द्र प्याकुरेलले बताउनु भयो । जसमा ७ वटा डिजेल, २ वटा पेट्रोल र २ वटा ग्यास बुलेट छन् । नेपालगञ्ज नाकाबाट ७५ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेको मध्ये १३ वटाले डिजेल, एउटाले पेट्रोल र २ वटाले हवाइ इन्धन बोकेको भन्सार प्रमुख राजेन्द्र हमालले् जानकारी दिनु भयो ।
गौरीफन्टा नाकाबाट भने ५ वटाले पेट्रोल र २ वटाले डिजेल बोकेका गाडी नेपाल आएको भन्सार प्रमुख हरिप्रसाद पाण्डले बताउनु भयो ।