इनरुवा, २८ असोज । एकै परिवारका तीनजनाको हत्या गरी फरार रहेका दुइजनालाई सुनसरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
करिब डेढ वर्ष अगाडि तीन जनाको हत्या गरेर गाडेको आरोपमा मुख्य योजनाकार सप्तरी सारस्वर–३ का अल्लाउद्धिन मियाँ र शम्भुनाथ नगरपालिका–२ कनकपट्टिका नसरुल मियाँलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उक्त घटनामा संलग्न रहेको खुल्न आएकाले उनीहरूलाई अनुसन्धान र कानुनी कारबाहीका लागि पक्राउ गरी सार्वजनिक गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
सोही घटनामा यसअघि सप्तरीको सारस्वर–३ का रजावुल मियाँलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
डेढ वर्षअघि सप्तरीका मोहम्मद इद्रिस खलिफा , जैतुन खातुन र उनकी छोरी शैरुन खातुनलाई हत्या गरी इनरुवा–७ स्थित सियाराम यादवको घर कम्पाउन्डभित्र गाडेको घटनामा उनीहरू दोषी पाइएको प्रहरीको भनाइ छ ।