काठमाडौं, २८ असोज ।
एकीकृत नेकपा माओवादीले महासचिव कृष्णबहादुर महाराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।
आज बसेको एमाओवादी स्थायी समितिको बैठकले सभामुखमा भने वनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सत्ता साझेदार दलहरुबीच सभामुख एमाओवादीलाई दिने सहमति भएकाले घर्ती निर्वा्चित हुने सुनिश्चित जस्तै छ ।
एमाओवादी सचिव वर्षमान पुनकी पत्नी घर्ती निवर्तमान उपसभामुख समेत हुन् । बुधबार मात्र सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिएका थिए ।
एमाओवादी स्थायी समितिको बैठकले मन्त्रीहरु छान्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।
तर, उपप्रधानमन्त्रीको हैसियतमा सरकारको नेतृत्व महराले गर्ने निश्चित भएको एक पदाधिकारीले अनलाइनखबरलाई बताए ।
उनले गृह मन्त्रालय लिने सम्भावना छ । तर, गृहमन्त्रीका लागि एमाओवादीमा आकांक्षी धेरै छन् ।
सचिव टोपबहादुर रायमाझीले आफ्नो नेतृत्वमा सरकारमा जानु पर्ने र उपप्रधान तथा गृह आफूले पाउनु पर्ने दाबी गर्दै आएका थिए ।
जनार्दन शर्मा प्रभाकर लगायतले पनि गृहमन्त्री आफूले पाउनु पर्ने दाबी गर्दै आएका छन् ।