काठमाडौँ, २७ असोज । सरकार विस्तार, राष्ट्रपति, सभामुख लगायत पदमा बाँडफँड र चयनका विषयमा छलफल गर्न आज प्रमुख सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्दै छ ।
पछिल्ला दुई दिनमा एमाले र एमाओवादी तथा अन्य दलसग भएका आपसी छलफल र आन्तरिक गृहकार्यका आधारमा ती विषयमा टुङ्गो लगाउन स्थायी कमिटीको बैठक बस्न लागेको सो पार्टीका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
एमालेमा यसअघि सामान्यतः शीर्ष नेताको परामर्शमा प्रधानमन्त्रीले मन्त्रीको चयन गर्ने गरिए पनि यसपटक स्थायी कमिटीबाटै यसको निर्णय हुन लागेको हो ।
एमालेले राष्ट्रपति पाउने सम्भावना भएकाले सो पदको उम्मेदवारीका विषयमा पनि स्थायी कमिटीले निर्णय गर्नेछ भने उपप्रधानमन्त्रीसहित अर्थमन्त्री र अन्य मन्त्री चयन गर्नेछ । रिक्त सभामुख पदमा एमाओवादीका उम्मेदवारलाई एमालेले सघाउनेछ ।
स्रोतका अनुसार राष्ट्रपतिमा उपाध्यक्ष विद्यादेवी भण्डारीको नाम अघि सारिने छ । यद्यपि कतिपय नेताले सुभाष नेम्वाङ र झलनाथ खनालको समेत नाम लिने छन् । यसका बीच पनि बिद्या भण्डारी उम्मेद्धार बन्ने लगभग निश्चित रहेको एक नेताले दावी गरेका छन् ।
यसै गरी उपप्रधानमन्त्री सहित अर्थमन्त्रीमा उपाध्यक्ष भीम रावललाई अघि सार्ने तयारी भएको छ ।
यस अघि अर्थमन्त्री भनेर चर्चामा आएका विष्णु पौडेलको कम शैक्षिक योग्यताको बारेमा प्रश्न उठे पछि उनलाई अरु नै जिम्मा दिने तयारी भएको छ ।
एमालेले नयाँ सरकारमा तीन मन्त्री पठाइसकेको छ ।