काठमाडौँ, २७ असोज । म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसागर थापासहित चार खेलाडी र एक प्रशिक्षक पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले आज कप्तान थापासँगै खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई तथा प्रशिक्षक अञ्जान केसीलाई पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल मिलेमतोमा लापरबाही गरी राष्ट्रको छविमा आँच पु¥याएकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
“झन्डै एक महिना गहिरो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको हो । देशको छवि धमिल्याउने गरी खेलमा धाँधली गरेको र राष्ट्रिय टीमको मात्र नभई सम्पूर्ण नेपाली जनताको विश्वासमा कुठाराघात गरेकाले पक्राउ गरिएको हो,”– उहाँले भन्नुभयो ।
कप्तान थापालाई थापाथली, विकाससिंह थापा र अञ्जान केसीलाई जावलाखेल र रितेश र सन्दिप राईलाई बालुवाटारबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका सबै लाई हिरासतमा लिई अनुसन्धान भइरहेको र उनीहरुलाई सङ्गठीत रुपमा राज्य विरुद्धको अपराध शीर्षकमा मुद्दा दायर गरिने वरिष्ठ प्रहरी उपरीक्षक खनालले बताउनु भयो ।
अफगानिस्तान, इराकलगायतसँगको प्रतिस्पर्धामा अभियुक्तहरुले आर्थिक प्रलोभनमा खेलको दुरुपयोग गरी राष्ट्रिय टोलीलाई कमजोर बनाई राष्ट्रको छवि धमिल्याउने काम गरेकाले पक्राउ गरिएको प्रहरीको भनाई छ ।
प्रहरीले पछिल्लो दुई महिना देखि उनीहरुलाई निगरानी गरेको दावी गरेको छ । एशियाली फुटबल महासंघले छिट्टै प्रतिकृया सार्वजनिक गर्ने जनाईएको छ । यो प्रकरणले नेपाली फुटवलको नकारात्मक नतिजामा कतै यस्तै कराण त थिएन भन्ने शंका पैदा गरेको छ ।