गोरखा, २७ असोज ।
भूकम्पपछि झरेको पहिरोले अवरुद्ध गोरखाको मनास्लु पदमार्ग गैरसरकारी संस्थाको आर्थिक सहयोगमा स्थानीयबासीले खुलाउन सुरु गरेका छन् ।
अवरुद्ध सोति–लापुभीर–माछाखोला–तातोपानी पदमार्ग खण्ड खुलाउने काम धमाधम सुरु गरिएको छ । केयर नेपाल नामक संस्थाले स्थानीयलाई दैनिक रु छ सय पारिश्रमिक दिएर पदमार्ग खुलाउने काम सुरु गरेको हो ।
केयरकै सहयोगमा यारु बगरमा काठे पुल समेत निर्माण गरिएको छ । स्थानीयबासी जीबन गुरुङ्गका अनुसार यारु बगरमै अर्को काठे पुल निर्माणको काम सुरु गरीएको छ । बूढीगण्डकी कटानले गर्दा पदमार्गको यारुबगरखण्डमा नयाँ पदमार्ग बनाउनुपर्ने अवस्था देखिएको स्थानीयबासीको भनाइ छ ।
पदमार्ग खुलाउन करोडौँ रुपैयाँ आवश्यक पर्ने उत्तरी गोरखाको अनुगमन गरेर फर्कनुभएका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो । “पदमार्ग सुचारु गर्न ढिलाइ भएको छ” उहाँले भन्नुभयो ।
भूकम्पपछि जिल्ला भित्रिएका गैरसरकारी संस्थाले पदमार्ग खुलाउन आवश्यक सहयोग गर्ने बताए पनि सरकारी नीति, नियमका कारण समस्या भएको उहाँको भनाइ छ । मन्त्रालयमा सम्झौता गरेपछि मात्रै जिल्लामा काम गर्न पाउने नियम भएका कारण समस्या भएको उहाँले बताउनुभयो ।
स्थानीय स्वायत्त शासन ऐनअनुसार जिल्ला बिकास समितिमा सम्झौता गरेर काम अघि बढाउन सकिने नियम भएपनि कार्यान्वयनमा ल्याउन नसकिएको प्रजिअ तिमल्सेनाले बताउनुभयो ।
जिल्लाको गुम्दा गाविसको सिङ्ला गाउँसम्म पुग्ने बाटो तथा बारपाकदेखि लाप्राक हुँदै गुम्दा जोड्ने बाटो निर्माण गरिएको केयर नेपालका माधव ढकालले जानकारी दिनुभयो ।
अवरुद्ध पदमार्ग निर्माणमा रु ४९ लाख ६२ हजार खर्च भएको उहाँले बताउनुभयो ।
सुख्खा पहिरो झरिराखेकाले पदमार्ग खुलाउन असहज भएको छ ।