काठमाडौ २६ असोज ।
मलेसियामा हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागि हुन नेपाली युवाटोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले आज आयोजना गरेको एक कार्यक्रममा १७ सदस्यीय नेपाली टोलीलाई क्यानका पदाधिकारीहरुले सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए । १४ सदस्यीय खेलाडीसहित तीन जना पदाधिकारी रहेका नेपाली टोली मध्यान्ह १२ ः ३० बजे त्यसतर्फ प्रस्थान गरेको हो ।
बुधबार सुरु हुने उक्त छनोट प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा र पपुवा न्युगिनी सहभागी छन्।
नेपालले भने आफ्नो पहिलो खेल यही बिहीबार पपुवा न्युगिनीसँग खेल्नेछ भने दोस्रो खेल शुक्रबार युगान्डासँग खेल्नेछ। यसअघि नेपाली टोली मलेसियामा भएको १९ वर्ष मुनिको आइसिसी प्रिमियर लिगको उपविजेतासमेत बनेको थिया े।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप च्याम्पियनसिप खेल्न पाउनेछ । उन्नाइस वर्षमुनिको विश्वकपमा आइसिसीका १० पूर्ण सदस्य राष्ट्र वेष्ट इन्डिज, अस्ट्रेलिया, जिम्बाब्वे, बङ्गलादेश, वेलायत, न्युजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र भारत सहभागी हुनेछन् ।
यस्तै, उक्त प्रतियोगिताका लागि स्कटल्याण्ड, अफगानिस्तान, नामिबिया र क्यानाडाले छनोट चरण पार गरिसकेका छन् । उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले भारतको नयाँ दिल्लीमा दुई हप्ता अभ्यास गरेको थियो।