काठमाडौँ, २६ असोज । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले दुई छिमेकी मुलुक भारत र चीनसँगको बहुआयामिक सम्बन्धलाई सुदृढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “भारत र चीन दुई मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याइनेछ । राष्ट्रिय हित र संवद्र्धन नै परराष्ट्र नीतिको आधार भएको भन्दै उहाँले जुनसुकै मुलुकको परराष्ट्र नीति निरन्तरतामा आधारित हुने स्पष्ट पार्नुभयो ।
छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने र दातृ राष्ट्रसँगको सम्बन्धलाई विस्तार गर्ने सन्दर्भमा परराष्ट्रमन्त्री थापाले भन्नुभयो, “देशको परराष्ट्र नीतिलाई प्रगतिशील र व्यावहारिक ढङ्गबाट अगाडि बढाउने छु ।”
केही समयदेखि सीमावर्ती क्षेत्रमा मधेस केन्द्रित दलले गरेको आन्दोलन र पारवहन तथा आवागमनमा भइरहेको असहजता र व्यवधानका कारण जनताले कष्ट सहनु परिरहेको उल्लेख गर्दै उहाँले कूटनीतिक माध्यमबाट यस समस्यालाई समाधान गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।
परराष्ट्रमन्त्री थापाले चाडपर्वका समयमा जनतालाई राहत दिने उद्देश्यका साथ सरकारले वर्तमान अवस्थामा देखिएको राजनीतिक समस्यालाई वार्ता र संवादबाट समाधान गर्न आन्दोलनरत राजनीतिक दललाई वार्तामा आउन आह्वान गरिसकेको बताउनुभयो ।
पारवहन तथा आवागमनमा देखा परेको असहज परिस्थितिको निराकरणका लागि राजनीतिक पहल र मित्रराष्ट्र भारतसँग कुरा गर्नुपर्ने बताउँदै उहाँले कूटनीतिक संवादको माध्यमबाट समस्याको समाधानका लागि पहल भइसकेको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री थापाले भन्नुभयो, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिने क्रममा व्यक्त गरिएको भावनाले विद्यमान समस्याको समाधान हुने विश्वास लिइएको छ । यसलाई आधार मानेर समस्याको कुटनीतिक समाधान खोजिनेछ ।”
दैनिक उपभोग्य वस्तुको समस्यालाई देशभित्र रहेको मौज्दातलाई व्यवस्थित रुपमा परिचालन गरी आपूर्ति व्यवस्थालाई तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति बनाएर विद्यमान समस्याको समाधान खोजिने प्रयास भइरहेको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री थापाले जनताले महसुस गर्ने गरी आपूर्ति व्यवस्थालाई सहज बनाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।