काठमाडौँ, २५ असोज । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल स्मृतिपार्क र यसअघि नेकपा (एमाले)को केन्द्रीय कार्यालय रहेको मदननगर बल्खु पुगी पुष्पलाल तथा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सम्मानमा ओली प्रधानमन्त्री भएकै दिन त्यहाँ पुग्नुभएको थियो ।
ओलीका साथ एमालेका तर्फबाट नवनियुक्त मन्त्रीहरु पनि पुग्नुभएको थियो । मदननगर बल्खुका स्थानीयवासीले पार्टी कार्यालयकै कारण सो स्थानको नाम मदननगर रहेकाले कार्यालयलाई अन्यत्र नसार्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।
गत वैशाख १२ को विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले आफ्नो कार्यालय बल्खुबाट धुम्रबाराहीमा सारेको छ ।