काठमाण्डौ,२५ असोज ।
प्यूठानमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन । उत्तरी प्यूठानका भिन्दाभिन्दै दुई गाविसमा गएराति चट्याङ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको विकट मानिएको स्याउलिवाङ–२ मा गुमान घर्तीको घरमा चट्याङ पर्दा उहाँकी २८ वर्षीया श्रीमती नन्दी घर्तीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै सोही गाविसको वडा ७ मा तकबहादुर बुढाको घरमा पनि चट्याङ पर्दा उहाँका १८ वर्षीय छोरा जुगलाल बुढाको मुत्यु भएको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।
त्यस्तै प्रहरीका अनुसार आज बिहान फोप्ली–७ मा पनि चट्याङ पर्दा एकै परिवारका सातजना घाइते भएका छन् । त्यस्तै दुईवटा बाख्रा पनि मरेका छन । स्थानीयवासी घनी सुनारको घरमा चट्याङ पर्दा घनीसहित उहाँका परिवारका सबै सदस्य घाइते भएका हुन ।
घाइतेमध्ये घनी र मुस्कान सुनारको अवस्था गम्भीर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाँकी सदस्यको अवस्था सामान्य रहेको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।