काठमाडौं, २५ असोज ।
टीकापुरमा ९ जनाको मारिएको घटनामा संलग्नको अभियोगमा पक्राउ परेकामध्ये २० जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीले आदेश दिएको छ ।
पक्राउ परेका २२ मध्ये २ जना नाबालक भएकाले एउटालाई अभिभावकको जिम्मा र एउटालाई बालसुधार गृहमा राख्न अदालतले आदेश जारी गरेको छ ।
अतिरिक्त जिल्ला न्यायाधीश भुवनसिंह थापाको ईजलासले फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारु, थरुहटरथारुवान संयुक्त संघर्ष समितिका संयोजक लाहुराम चौधरीसहित २० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
१५ वर्षीय श्रवण चौधरीलाई बालसुधार गृह र १४ वर्षका करन चौधरीलाई आफन्तको जिम्मा लगाउन अदालतले भनेको छ । घटनामा संलग्नको अभियोगमा ५८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
मुद्धा दर्ता भएका ३६ जना फरार छन् । थरुहट आन्दोलनका क्रममा भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक बालक मारिएका थिए । प्रहरीले अनुसन्धानपछि ५८ जना विरुद्ध असोज ५ गते मुद्दा दायर गरेको थियो ।