काठमाण्डौ,२५ असोज ।
भारतीय आयल निगमले आइओसीले पेट्रोलिय पदार्थ पठाउने जनाएसंगै नेपाल आयल निगमले १ सय ५० भन्दा बढी खाली ट्यांकरहरु भारतीय डिपोमा पठाएको छ ।
तेल लिन आउन भनि आइओसीले पत्र पठाएपछि निगमले १ सय ५० भन्दा बढी ट्यांकरहरु पठाएको निगमका प्रबक्ता दिपक बरालले जानकारी दिनुभयो । पत्र पठाए अनुरुप लोडिङ दिएमा भोली संख्या बढाएर ट्यांकर पठाउने बरालले बताउनु भयो ।
आइओसीको रक्सौल बाहेक गोन्डा, बैतालपुर, बरौनी र सिलगुढी डिपोमा ट्यांकरहरु पुगेका हुन् । वीरगञ्ज नाकामा मधेसी मोर्चाको अबरोध कायमै रहेकाले त्यहाँबाट कुनै सवारी साधन नेपाल भित्रिएका छैनन ।
यसअघि डिपोमा पुगेका ट्यांकरमध्ये १० प्रतिशत मात्रै लोड दिने गरेकोमा हिजो सार्वजनिक बिदा भएपनि दुई डिपोले २५ प्रतिशत ट्यांकरमा तेल लोड गरेका थिए । आइओसीले अघिल्लो साता मात्रा तेल लोडिङ सामान्य बनाउने बताएपछि गएका ट्यांकर मध्ये दैनिक १० प्रतिशतलाई मात्र लोड दिएको थियो ।