काठमाण्डौ,२५ असोज ।
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । शीतलनिवासमा आयोजित एक बिशेष समारोहकाबिच राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराउनुभएको हो ।
सपथ पत्रमा ईश्वर, जनता र देशको नाममा भन्ने शब्द भएपनि उहाँले ईश्वरको नाम नलिईकन जनता र देशको नाम मात्र लिएर सपथ लिनुभएको छ । समारोहमा राष्ट्रपति डा. यादवले उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार र कमल थापालाई पनि पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।
गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार र थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ । यस्तै एमालेका तीन र एमाओवादीका एक मन्त्रीले पनि शपथ ग्रहण गरेका छन ।
एमालेबाट अग्नीप्रसाद खरेललाई कानुन, न्याय तथा संसदीय व्यवस्था र सोमप्रसाद पाण्डेलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेकै सत्यनारायण मण्डलले भने विना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको हो ।
यस्तै एमाओवादीका हरिबोल गजुरेलले कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री सुशील कोइरालालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
सपथपछि प्रधानमन्त्री ओलीले केही बेर अघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण लगत्तै प्रधानमन्त्री ओली ललितपुरको जावलाखेलमा हुने भोटो देखाउने जात्रामा सहभागि हुनुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।