काठमाडौं, २५ असोज ।
देशको प्रमुख व्यापारिक बीरगञ्ज भन्सार र रक्सौल नाका १९ दिनदेखि ठप्प छ ।
भारतले घोषित रुपमै यो नाका बन्द गर्दा सयौंको संख्यामा मालबाहक गाडी, ग्यांस बुलेट र पेट्रोलियम पदार्थ बोकेका गाडी भारततर्फ रोकिएका हुन् ।
रक्सौलमा नेपाल भित्रन लामबद्ध ३ सयभन्दा बढी पेट्रोलियम पदार्थ बोकेका गाडी छन् ।
भैरहवाबाट पनि ९ दिनयता कुनै पनि सामग्री नेपाल भित्रन दिइएको छैन । भारतले नै यो नाका बन्द गरेपछि नेपाल प्रवेश गर्न सुनौली नाकामा लामबद्ध गाडी भारततर्फ फर्किएका छन् ।
अन्य नाकाहरुमा भने भारतीय आयल निगमले पेट्रोलिय पदार्थ पठाउने जनाएसंगै भारतको अघोषित नाकावन्दी केही खुकुलो भएको छ ।
रक्सौल र विरगन्ज बाहेकका नाकाबाट भने मालसामानका कन्टेनर र केही मात्रामा पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रने क्रम जारी छ ।
बिराटनगरको रानी भन्सारमा पेट्रोलियम पदार्थ नेपाल नभित्रिएपनि नेपाली ट्यांकरहरु भारत तर्फ गएका छन् । आज पेट्रोलिय पदार्थ केही मात्रामा भित्रने जनाइएको छ ।
पूर्वको काँकडभिट्टामा अवरोध बिना नै गाडीहरु भित्रिरहेका छन् । यो नाकाबाट आइतबार १ सय २२ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् जसमा १४ वटा पेट्रोल र ३ वटा ग्यांस बेकोका ट्यांकर रहेका छन् । आइतबार नै ३५ वटा ट्यांकर पेट्रोलियम पदार्थ लिन भारत तर्फ गएका छन् ।
बाँकेको रुपहडिया–जमुनाहा नाका भएर २६ वटा डिजल, ११ वटा एलपी ग्यासका बुलेट र ७ वटा हवाई ईन्धन बोकेका ट्याङकर नेपाल प्रबेश गरे । यो नाकाबाट आइतबार ९१ वटा मालबाहक गाडी नेपाल प्रबेश गरेका थिए ।
कैलालीको धनगढी नाका बाट अन्य मालबाहक गाडी निर्वाध रुपमा भित्रिरहेका छन् ।