काठमाडौं, २५ असोज । नब निर्बाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैहुनुहुन्छ । प्रधानमन्त्री ओलीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गर्नुभएको हो ।
राष्ट्रपतिबाट शपथ ग्रहण गरे लगतै उहाँले तीन उपप्रधानमन्त्री र केही मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी गर्नुभएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार उपप्रधानमन्त्री बन्ने पक्का भैसकेको छ भने एमाओवादीको तर्फबाट एक जना उप्रधानमन्त्री रहने भएपनि एमओवादीले यसबारेमा निर्णय गरिसकेको छैन ।
एमाओवादीले कृष्णबहादुर महरा वा टोपबहादुर रायमाझी मध्ये एकजनालाई सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गराउने तयारी गरेको छ । महरा वा रायमाझी मध्ये एक जनाले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको जिम्मेवारी सम्हाल्ने स्रोतले जनाएको छ ।
यस्तै राप्रपा नेपालका अध्यक्ष थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हाल्ने तय भएको छ ।
नयाँ सरकारमा एमालेका तर्फबाट उपाध्यक्ष भीमरावल र उपमहासचिव विष्णु पौडेलसहति नौ जना मन्त्री रहने छन् । एमालेले अर्थसहितका मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ ।
यस्तै एमाओवादीका तर्फबाट अग्नि सापकोटा, हरिबोल गजुरेलसहित आठ जना मन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् ।
यसैगरी राप्रपा नेपालको भागमा तीन, फोरम लोकतान्त्रिकको भागमा दुई, राप्रपाको भागमा दुई, नेकपा मालेले एक तथा अरु साना दलको तर्फबाट पनि मन्त्री परिषदमा प्रतिनिधित्व हुने स्रोतले जनाएको छ ।