धरान ,२४ असोज ।
आयोजक धरान भेट्रान फुटबल क्लबले प्रथम गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
आयोकजले विराटनगरको सिएमजी भेट्रान क्लवलाई ५–१ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो । उपाधिसँगै नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन् ।
उपविजेता बनेको सिएमजीले नगद ४० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो । व्यक्तिगत ट्रफी भने आयोजक धरानको पोल्टामै परेको छ ।
फाइनल खेलको म्यान अफ दि म्याच मणी तामाङ घोषित हुँदै नगद १ हजार ५ सय रुपैया प्राप्त गरे । खेलमा डिल्लीराम श्रेष्ठले ह्याट्रिक पूरा गर्दा सुरेन्द्र तामाङ र लक्ष्मण मगरले एक–एक गोल गरे ।
डिल्लीराम र सुरेन्द्र पूर्व राष्ट्रिय खेलाडीसमेत हुन् । खेलमा सर्वा्धिक गोलकर्ता डिल्लीराम बने । जस्ले खेल अवधिभर ५ गोल गरेका थिए । उनले नगद ५ हजार रुपैयासहित ट्रफी पाएका छन् ।
त्यस्तै सर्वोकृष्ट खेलाडीमा आयोजककै सुरेन्द्र तामाङ घोषित हुँदै नगद ५ हजार रुपैयासहित ट्रफी पाए । खेलमा रेफ्रीहरुलाईसमेत मायाको चिनो स्वरुप टिसर्ट प्रदान गरिएको थियो ।
फाइनल खेलमा सुरेन्द्रले खेलको २ मिनेटमा गोल गर्दै अग्रता कायम गरेका थिए । त्यसलाई सिएमजीका तर्फबाट बुद्धि दराईले ६ मिनेटमा उल्टाए । तर, २० मिनेटमा डिल्लीरामले दोब्बर पारे ।
दोस्रो हाफको १८ मिनेटमा हेडमार्फत डिल्लीरामले सुन्दर गोल गरे भने २५ मिनेटमा लक्ष्मणले गोल गरे । पुनः २८ मिनेटमा डिल्लीरामको गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
खेलमा विजेता उपविजेताहरुलाई अतिथि कोशी अञ्चल प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी ज्ञानविक्रम साह, धरान फुटबल क्लवका अध्यक्ष किशोर राई, आयोजक क्लवका अध्यक्ष रोमी मोक्तानलगायतले पुरस्कार वितरण गरेका थिए ।