ओली प्रधानमन्त्री भएपछि कोइरालाले के गरे

ओली प्रधानमन्त्री भएपछि कोइरालाले के गरे

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २४ असोज ।

प्रधानमन्त्री पदमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएलगत्तै प्रधानमन्त्री पदका उहाँका प्रतिस्पर्धी नेपाली काँगे्रसका सभापति सुशील कोइराला ओली भएकै स्थानमा आएर बधाई दिनुभयो ।

ओलीलाई बधाई दिने भीड धेरै भएकाले कोइराला भीड छिचोल्दै ओली नजिक आएर बधाई दिनुभयो । बधाई दिएलगत्तै दुई नेताले एकले अर्कोलाई अङ्कमालसमेत गर्नुभयो ।

त्यस्तै, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले ओली भएकै स्थानमा आएर अङ्कमाल गर्दै बधाई दिनुभयो ।

ओलीले अन्य नेतासँग हात मिलाएर बधाई साटासाट गरे पनि सभापति कोइराला र अध्यक्ष दाहालसँग भने अङ्कमाल गरेरै बधाई साटासाट गर्नुभएको थियो ।

आन्दोलनरत मधेस केन्द्रित दल – तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायतका नेतासमेत ओलीलाई बधाई दिन आइपुग्नुभएको थियो ।

संसद् भवनभित्र ओलीको पक्षमा मतदान गर्न जान लाग्नुभएका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई रोक्दै काँग्रेस सभासद् रामहरि खतिवडाले कोइराला पक्षमा मतदान गर्न तान्दै गरेको दृश्य हेर्न लायक थियो ।

त्यस्तै, ओलीको पक्षमा मतदान गर्न जान लाग्नुभएका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता रामजनम चौधरीलाई तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले तान्दै कोइरालाको पक्षमा लैजान खोज्नुभएको थियो ।

मतदान भएलगत्तै मत परिणाम नआउँदै ओलीलाई बधाई दिनेको लर्को लाग्न सुरु गरिसकेको थियो ।

नवनिर्वाचित प्रधानमन्त्री ओली बसेको कुर्सी नजिकै आएर तस्बिर खिचाउने सभासद्हरुको तँछाडमछाड थियो । उनीहरुले सेल्फीसमेत लिइरहेका थिए ।

सभामुख सुवास नेम्वाङले ओलीको पक्षमा ३३८ र कोइरालाको पक्षमा २४९ मत प्राप्त भएको घोषणा गरेलगत्तै उहाँका पक्षधर सभासद् र माथि बाल्कोनीको दर्शकदीर्घामा रहेका सर्वसाधारणबाट तालीको गड्गडाहट छुटेको थियो ।

बाल्कोनीमा बसेकाले नियमविपरीत ताली बजाएपछि मर्यादापालकहरुले ताली नबजाउन पटक पटक आग्रह गर्नुपरेको थियो ।

परिणाम घोषणा गरिरहँदा सभासद्हरु उठेर ओलीलाई बधाई दिन थालेपछि सभामुखले माननीयहरु एकछिन धैर्य गर्नुहोस्, घोषणा प्रक्रिया टुङ्गिएको छैन, जारी छ भन्दै रोक्नुभएको थियो ।

ओली निर्वाचित भएलगत्तै बधाई दिने सभासद्हरुले घेरिएपछि उहाँलाई बधाई दिन आएका अन्य दलका शीर्ष नेतालाई भीडका कारण उहाँ भएसम्म पुग्न हम्मेहम्मे परेको थियो ।

भीडकै कारण काँग्रेस नेता शेरबहादुर देउवाले टाढैबाट ओलीलाई हात दिए पनि धेरैबेरसम्म ओलीले नदेखेपछि नेता देउवा भीड छिचोलेर भित्र पसी बधाई दिनुभएको थियो ।

निर्वाचित भएर ओली संसद्बाट बाहिरिँदै गर्दा उहाँको दायाँबायाँ नेपाली झन्डा लिएर दुईजना उभिनुभएको थियो । संसद् भवन बाहिर एमालेका नेता, कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।

उनीहरुले यो नेपालको जित भएको भन्दै एमालेको पक्षमा नाराबाजी गरेका थिए ।

यसअघि, एउटा सवारी साधनलेमात्रै ओलीको गाडी पछ्याउने गरेकोमा निर्वाचित भएर संसद्बाट बाहिरिँदै गर्दा सबैभन्दा अगाडि ट्राफिक प्रहरीको मोटरसाइकल, त्यसको पछाडि नेपाल प्रहरीका दुईवटा स्कर्टिङ गाडी, बीचमा ओलीको गाडी र त्यसको पछाडि सशस्त्र प्रहरीको गाडीले स्कर्टिङ गरेको थियो ।

स्कर्टिङ गाडीसहित संसद् भवनबाट नवनिर्वाचित प्रधानमन्त्री ओली सोझै आफ्नो पार्टी कार्यालय धुम्बाराही पुग्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी