असोज २४, मोरङ ।
भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाल प्रहरीका असई प्रदीप गिरीलाई नियन्त्रणमा लिएर भारतीय भूमिमा लगी निर्घात कुटपिट गरेको छ ।
विराटनगरको रानी नाकामा आज नेपाल प्रहरीका असई गिरीलाई नियन्त्रणमा लिएर कुटपीट गरि हतियार समेत खोसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता डिएसपी प्रमोद खरेलले जानकारी दिनुभयो ।
दशगजामा धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भईरहेका बेला गिरीलाई एसएसबिले नियन्त्रणमा लिइ भारतीय भुमिमा लगेर कुटपिट गरेको हो । उहासित रहेको सानो पेस्तोल खोसिएको हो ।
एसएसबीले लाठी लगायतले कुटपीट गर्दा असई गिरीको निधारमा गम्भिर चोट लागेको छ । नियन्त्रणमा लिइएको केही बेर पछि नेपाली सुरक्षाकर्मीको दवाव पछि मुक्त गरिएका असई गिरीको विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
आज दिउसो ३ वजेको समयमा नाकामा धर्ना दिने कार्यक्रम अन्तरगत विराटनगर–जोगवनी नाकाको दसगजा क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि हस्तक्षेप गर्न गएका नेपाल प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप सुरु भएको थियो ।
सो झडप चलिरहदा सिमा क्षेत्रमा रहेका एसएसबीले नेपाली भुमीमै प्रबेश गरि युनिफर्ममा रहेका असई गिरीलाई नियन्त्रणमा लिएर गएको डिएसपी खरेलले बताउनुभयो ।
यद्धपी उहाको हतियार एसएसबीले फिर्ता गरेका छैनन् । सो घटना पछि जिल्ला सुरक्षा समिती मोरङको आकस्मिक बैठक भएको छ ।
बैठक पछि प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू अहिले सिमावर्ती भारतीय अधिकारीहरूसित सिमा क्षेत्रमा छलफल गरिरहेका छन् । छलफलमा सहभागी प्रजिअ कार्कीले हतियार अहिले सम्म फिर्ता नगरेको र छलफल भईरहेको बताउनुभयो ।
झडपको क्रममा १२ जना प्रर्दसनकारी घाइते भएको संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादबले जानकारी दिनुभयो ।
सो झडपमा नेपाल प्रहरीका निरिक्षक विनोद श्रेष्ठ, सइ भरत थापा, सशस्त्र प्रहरी जवानद्धय रोसन राजबंसी र देबेन्द्र यादब घाइते भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी खरेलले जानकारी दिनुभयो ।