काठमाण्डौ,२३ असोज ।
नेकपा एमालेका नेता माधवकु्मार नेपालले अन्तर्रा्ष्ट्रिय कानुन र सन्धि सम्झौता विपरीत भारतले लगाएको नाकाबन्दी तत्काल हटाउनुपर्ने बताउनुभएको छ ।
एमाले नगरकोट नगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै भारतले नाकाबन्दी लगाउनुगलत भएको उल्लेख गर्नु भयो ।
नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताबाट कमाएको माया र सम्मान गुमाएको बताउँदै नेपालको समस्या सुल्झाउन भारत–नेपालबीच आवश्यक वार्ता एवम् छलफल आवश्यक भएको औँल्याउनुभयो ।
संविधान अध्ययन नै नगरी मधेसमा गलत प्रचार गरिएको टिप्पणी गर्दै नेता नेपालले मधेसी, थारु, मुस्लिम, आदिवासी, जनजाति तथा महिलाको छुट्टै आयोग बनाएर उनीहरुको थप मागलाई सम्बोधन गर्ने व्यवस्थासमेत गरिएको बताउनुभयो ।
मधेसका नागरिकले संविधानको यथार्थाता बुझेर मात्रै आन्दोलनमा साथ दिनुपर्ने बताउँदै उहाँले मधेस आन्दोलन सीमित व्यक्तिको स्वार्थले जेलिएकाले तत्काल आन्दोलन रोकेर नाकाबन्दी सहज बनाउन मधेसी जनता लाग्नुपर्ने बताउनुभयो ।