काठमाडौ २३ असोज ।
आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता गर्ने वा एमालेलाई समर्थन गर्ने भन्ने विषयमा नेपाली कांग्रेसका शिर्ष नेताबीच आज पनि छलफल हुदैछ ।
पार्टीका तर्फबाट प्रधानमन्त्रीको उमेदवार दिने विषयमा सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल , वरिष्ठ नेता शेरबहादुर देउवाबीच केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुदैछ ।
तीन नेताबीचको छलफलपछि बस्ने केन्द्रिय कार्यसमितिको बैठकले सरकारबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।
एकिकृत नेकपा माओवादी लगायतका दलको समर्थन पाउने स्थितिमा कांग्रेसले उमेदवारी दिने तयारी गरेको एक नेताले बताएका छन् ।
तीनै जना नेताले भावी प्रधानमन्त्रीमा आफ्नो दावी पेश गरेपछि कांग्रेस फेरि सरकारको नेतृत्वका लागि अगाडि आउने सम्भावना देखिएको छ ।
यता एकिकृत नेकपा माओवादीले भने सर्त सहित एमालेलाई समर्थन गर्ने जनाएको छ । आफ्ना सर्तबारे लिखित सहमति भएपछि मात्र एमालेलाई समर्थन गर्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो ।